गोरखा — थरीथरी रंगका गुराँसले धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखा क्षेत्र यतिखेर मनमोहक देखिएको छ । आगन्तुकले गुप्सीपाखाका गुराँस सामुन्ने पारेर तस्बिर गर्छन् । तर यस क्षेत्रको गुराँस टिप्नलाई भने रोक लगाइएको छ ।
ढकमक्क फूलेका गुराँसको छेउमै लेखिएको छ, ‘राष्ट्रिय फूल लालीगुराँस टिप्न सख्त मनाही छ ।’ गुराँस टिपेको भेटिएमा ५ सय रुपैयाँभन्दा बढी जरिवाना लाग्ने पनि सूचनामा उल्लेख छ । गुप्सीपाखा क्षेत्रमा रातो र सेतो गुराँस पाइन्छ ।
‘गुराँसको हाँगासहित जथाभावी टिप्दा सौन्दर्य बिग्रने भयो,’ मम्चेमा भेटिएका प्रवेश घलेले भने, ‘यही वर्षबाट नटिप्न भनेर सूचना राखिएको छ, बोर्ड देखेपछि अहिले यहाँ आउनेहरुले जथाभावी टिप्दैनन् ।’ गुराँस फूलेको हेरेर नै यहाँ आएका पर्यटक निकैबेर भुल्ने गरेको उनले सुनाए ।
स्थानीयले भने पूजा वा घरयासी प्रयोजनका लागि बोटमा असर नगर्ने तबरले फूल टिप्ने गरेका छन् । गुराँस जोगाउनका लागि लाप्राक पर्यटन विकास समिति मार्फत यो नियम राखिएको धार्चे–४ का वडा अध्यक्ष किसान गुरुङले बताए ।
‘फूल मात्र टिपे हुन्थ्यो, हाँगै भाँचेर गाडीमा राखेर लाने प्रवृत्ति देखियो, हाँगो भाँच्दा अर्को वर्षलाई असर गर्दो रहेछ,’ उनले भने,‘गुराँसको बोट हुर्काउन समय लाग्छ, हाँगालाई असर नगरी फूल मात्र टिप्नका लागि त्यति धेरै कडाइ गरेका छैनौं, एक/दुई वटा फूल टिप्न त दिएका छौं, हाँगासहित भाँचेर लानको लागिचाहिँ कडाइ गरेका हौं ।’
वन उपभोक्ता समूहसहितका स्थानीयसँग सरसल्लाहमा नै गुराँस टिप्न रोक लगाएको उनले सुनाए । ‘यो सूचना राखेपछि गत वर्षभन्दा धेरै कन्ट्रोल भएको छ, अहिले जथाभावी टिपेको पाएका छैनौं,’ उनले भने, ‘सूचना देखेपछि पर्यटक आफैं सचेत बन्नुभएको छ, अहिलेसम्म जरिवाना लगाउनुपर्ने अवस्था आएको छैन ।’
लाप्राक क्षेत्रमा फागुनदेखि वैशाखसम्म भिन्न/भिन्न रङका गुराँस फूल्ने गरेको उनले सुनाए । ‘फागुनतिर रातो फिक्का फूलेको थियो, त्यसपछि रातो फूल्यो, अहिले सेतो गुराँस फूलेको छ,’ उनले भने । लाप्राकको गुप्सीपाखा, नादुर पाखा र नासुर पाखा क्षेत्रमा ४ देखि ६ प्रजातिका गुराँस पाइन्छन् ।
केही वर्षयता गुराँस ढिला र चाँडो फूल्ने गरेको स्थानीय बताउँछन् । गुराँसको फूललाई गाउँमा औषधीजन्य प्रयोजनमा पनि प्रयोग गर्ने गरिन्छ । गुप्सीपाखा क्षेत्रको गुराँसबाट जुसलगायतका अन्य प्रयोजनमा प्रयोग गर्ने विषयमा पनि छलफल भइरहेको वडाध्यक्ष गुरुङले बताए । ‘फूल त त्यतिकै झरेर जाने हो, गाउँघरमा औषधिको रुपमा त यो प्रयोग नै भएको छ, यसबाट जुस पनि बनाउन सकिन्छ, यसबारेमा अध्ययन पनि गर्दैछौं,’ उनले भने ।
गुराँसलाई उपयोगमा ल्याउन सकिने विधिबारे तालिम र ज्ञान दिनुपर्ने स्थानीयको माग छ । हिउँदमा पर्दा हिउँ खेल्ने गन्तव्य बनेको गुप्सीपाखा यतिखेर गुराँसले पर्यटकलाई आकर्षित बनाएको छ । गोरखाको सिरानचोक, अजिरकोट, वारपाक सुलिकोटलगायतका पहाडी क्षेत्रमा यतिखेर गुराँसले वन क्षेत्र ढाकेको छ ।
