१६ घण्टापछि एकतर्फी खुल्यो दाउन्ने सडकखण्ड

वैशाख २१, २०८२

नारायण शर्मा

After 16 hours, the one-way section of the road was opened

नवलपरासी — आइतबार बिहान २ बजेदेखि अवरुद्ध  महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने सडक १६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको  छ । जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार आज दिउँसो घाम लागेका कारण हिलाम्मे राजमार्गमा ग्राभेल राखेर राजमार्ग एकातर्फी सञ्चालनमा ल्याएको हो ।

आइतबार बिहान २ बजेबाट दाउन्ने र आसपासको क्षेत्रमा वर्षा भएपछि यातायात अवरुद्ध भएको थियो । महेन्द्र राजमार्ग हुँदै पूर्व-पश्चिम हिँडेका गाडीलाई कालीगण्डकी कोरिडरको बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । 

महेन्द्र राजमार्गको नारायणगढबाट बुटवलतर्फ सडक चिप्लो भएका कारण अझै सकस छ । पश्चिम बर्दघाटबाट नारायणगढतर्फ गाडी आइरहेका छन् भने रातिदेखि पश्चिमतर्फ पठाउने प्रयास भइरहेको ढकालले बताए ।

महेन्द्र राजमार्गको दुम्कीबास-बर्दघाटबीचको १४ किलोमिटर सडक दाउन्ने पहाडमा पर्छ । त्यहाँ राजमार्ग निर्माण गर्न भन्दै ६ वर्षअघि भत्काएको सडक मर्मत नगर्दा धुलैधुलो र पानी पर्दा हिलाम्मे हुन्छ ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully