कोरोनामा बन्द पर्यटक जाँच केन्द्र सञ्चालनमा

वैशाख २०, २०८२

हरिराम उप्रेती

Tourist check-up center closed in Corona in operation

गोरखा — कोरोना महामारीका बेला बन्द भएको चुमनुब्री–३ जगतको पर्यटक जाँच केन्द्र पुनः सुरु भएको छ । वैशाख ५ गतेबाट जगतमा पर्यटक तथा वनपैदावार चेकपोस्ट सुरु गरिएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख सन्तोष शेरचनले बताए । ‘कोरोनापछि बन्द थियो, जगतमा हुने पर्यटक जाँच फिलिमको कार्यालयबाट गर्दै आएका थियौं,’ उनले भने, ‘आन्तरिक र केहि कर्मचारी थप गरेर पुनः जगतबाटै सेवा सुरु गरेका हौं ।’

मनास्लु क्षेत्र प्रवेश हुने जगतमा नै पर्यटक जाँच गर्दा सहज बनेको उनले बताए । लार्के सडकको ट्रयाक पाङसिङसम्म खुलेसँगै पर्यटक सोही बाटो भएर चुम र नुब्री पुग्ने गरेका छन् । जगतको कार्यालय पाङसिङ पारि फिलिममा रहेको छ । 

जगतको जाँच केन्द्रबाट अध्यागमन तथा मनास्लु क्षेत्र प्रवेश गर्ने परमिटलगायतको जाँच हुनेछ । ‘ड्रोन, क्यामेरा वा छायांकन गर्ने भए अनुमति लिए/नलिएको पनि जगतबाटै जाँच हुन्छ,’ उनले भने, ‘जडीबुटी संकलनपछि पुर्जी रहे नरहेको पनि निगरानी यहीँबाट गर्छौं ।’ 

एमक्यापले वैशाख अन्तिमसम्म चुमनुब्री–१ सामागाउँमा पनि पर्यटक जाँच केन्द्र स्थापनाको तयारी गरेको छ ।

मनास्लु क्षेत्र घुम्ने विदेशी पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएको छ । चालु आर्थिक वर्षको चैतसम्मको नौ महिनाको अवधिमा मात्र १० हजार २ सय ७३ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । गत आर्थिक वर्षको तुलनामा यो वर्ष पर्यटकको संख्या बढेको एमक्यापका प्रमुख शेरचनले बताए ।

गत आर्थिक वर्षमा नौ हजार सात सय ८३ पर्यटकले मनास्लु क्षेत्र पुगेका थिए । ‘यो वर्ष अझै पर्यटकको संख्या बढ्छ, जेठ १५ सम्म त सिजन नै हो,’ शेरचनले भने, ‘सडक सञ्जाल विस्तार नभएको पर्यटकको रोजाइमा पर्ने गरेको छ ।’

साहसिक पदयात्रा गर्ने र प्रकृतिप्रेमी पर्यटकको रोजाइमा मनास्लु क्षेत्र पर्ने गरेको छ । मनास्लु क्षेत्र जैविक विविधता र प्राकृतिक भू–बनोटको हिसाबले सुन्दर ठाउँ भएकाले पर्यटकको संख्यामा बर्सेनि वृद्धि हुँदै गएको शेरचनले बताए । यहाँ आएका पर्यटक चुम र नुब्री भ्याली क्षेत्रको भ्रमण तथा लार्के पास गर्ने गर्छन् । पछिल्लो समय मनास्लु क्षेत्र भ्रमण गर्ने नेपाली पर्यटकको संख्यामा पनि उल्लेखनीय वृद्धि छ ।

एमक्यापले विदेशी पर्यटकको मात्र अभिलेख राख्ने गरेको छ । उत्तरी क्षेत्रको भौगोलिक अवस्थिति, हिमशृंखला, सांस्कृतिक मठ, मन्दिर र गुम्बा अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेको छ । मार्च, अप्रिल र मे तथा अक्टोबर र नोभेम्बरलाई मनास्लु संरक्षण क्षेत्र भ्रमणको उपयुक्त समय मानिन्छ ।

गोरखाको चुमनुब्री–३ जगतको पर्यटक जाँच केन्द्र । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully