काभ्रेगाउँमा लिफ्टिङमार्फत् ‘एक घर, एक धारा’

वैशाख २०, २०८२

रासस

'One house, one stream' through lifting in Kavregaon

बागलुङ — बागलुङ नगरपालिका–१३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो । घर–घरमा धारा बनेपछि स्थानीयबासी खुसी भएका छन् । 

लिफ्टिङमार्फत पानी तानेर गाउँमा छ हजार र आठ हजार लिटरको दुई वटा धारा ट्याङ्की निर्माण गरी गाउँमा पानी वितरण गरिएको छ ।

बागलुङ नगरपालिकाको आठ लाख ८४ हजार ६९०, नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को ११ लाख ७३ हजार ५० र जन श्रमदान चार लाख दुई हजार ९६० गरी कुल २४ लाख ६० हजार ७०० लागतमा एक घर एक धार निर्माण भएको हो ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले यस गाउँमा लामो समयदेखि खानेपानीको चरम अभाव हुँदा बागलुङ नगरपालिकासँगको सहकार्यमा एक घर, एक धारा निर्माण गरेको बताए। गत साउन १५ गतेदेखि सुरु भएको योजना यही वैशाख १५ गते सकिएको सम्पन्न भएको उनको भनाइ छ । २१ घरमा धारा जडान गरेपछि अहिले पानी आउन थालेको कोइराला बताउँछन् । 

उनले भने, 'यो गाउँमा धेरै पहिलेदेखि नै खाने पानीको समस्या रहेछ, अहिले हरेकको घरमा धारा बनेका छन्, लामो समय खाने पानीको अभाव भोगेका स्थानीय अहिले खुसी भएका छन्, निकै मेहनतका साथ जनश्रमदान पनि गरे, लिफ्टिङमार्फत पानी तानेर गाउँमा पुर्‍याएका छौँ, अब त्यहाँका स्थानीयले पहिलेको जस्तो समस्या भोग्नुपर्ने छैन ।'

काभ्रेडाँडा लिफ्ट खानेपानी आयोजानकी कोषाध्यक्ष मनरूपा देवी रिजालले गाउँ खानेपानीको हाहाकार हुँदा दैनिकी प्रभावित हुने गरेको बताए। करिब एक दशकदेखि गाउँका तीन वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उनको भनाइ छ । विहानमा मात्रै धारामा पानी आउँदा दुई दिनका लागि भरेर राख्नुपर्ने समस्या भोगेको भन्दै घर–घरमा धारा बनेपछि दैनिकीनै फेरिन थालेको उनले बताए। 

रासस

Link copied successfully