प्रदेश, जिल्ला र पालिकामा राजनीतिक संयन्त्रको अवज्ञा गर्न कोइरालाको अपिल

'एमालेसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सत्तामा लामो समय रहनु कांग्रेसको हितमा छैन'

वैशाख २०, २०८२

नारायण शर्मा

Koirala's appeal to disobey the political machinery in the state, district and municipality

नवलपरासी — कांग्रेस नेता शेखर कोइरालाले कांग्रेस सरकारमा भए पनि सत्तामा नरहेको दाबी गरेका छन् । 'हामी (नेपाली कांग्रेस) सरकारमा छौं तर सत्तामा छैनौं । सत्ता पूरै एमालेको हातमा मात्र छ,' पूर्वी नवलपरासीको कावासोतीस्थित डण्डामा शनिबार जारी कांग्रेस निकट नेपाल थारु संघको जिल्ला अधिवेशन उद्घाटन क्रममा उनले भने, 'त्यसै कारणले कांग्रेसको एजेन्डा पास हुन सकेको छैन । हाम्रा मन्त्रीमण्डलमा बसेका साथीहरुले सत्तामा सहकार्य गरेका छन् । तर अब त्यसो गर्न हुँदैन ।'

आगामी निर्वाचनमा एमालेसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सत्तामा लामो समय रहनु कांग्रेसको हितमा नहुने उनले बताए । 'सरकारले गरेका हरेक क्रियाकलापले जनता निराश छन्,' उनले भने, 'सरकार गठन भएदेखि आजसम्म एउटा गतिलो काम सरकारले गरेको छैन ।'

जोसँग भोलि निर्वाचनमा गएर प्रतिस्पर्धा गर्नुछ, उसैसँग सत्ता सहकार्य गर्नु हुँदैन भन्ने कुरामा कांग्रेस अब एक हुनुपर्ने उनले बताए ।

कोइरालाले देश र सत्ता सञ्चालनका लागि राजनीतिक संयन्त्र बनाउने कार्य कदापि प्रजातान्त्रिक नहुने पनि जिकिर गरे । कुनै संयन्त्रमा पार्टीका मान्छे बस्नै नहुने भन्दै त्यस्तो संयन्त्रको प्रदेश, जिल्ला र पालिकामा अवज्ञा गर्न पनि उनले कार्यकर्तालाई अपिल गरे । 'सरकारले एउटा राम्रो काम गरेकै छैन, त्यसैमा किन चाहियो राजनीतिक संयन्त्र ?' उनले भने, 'सरकारमा कांग्रेसको सहभागिता भइरहनु दुर्भाग्य हो ।'

सरकारले ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिने र साना कर्मचारीलाई मात्र दोषी देखाउने प्रयत्न गरेको भन्दै उनले आलोचना गरे । 'एउटा गर्भनर बनाउन नसक्ने यो कस्तो सरकार हो ? दण्डहीनता बढेको बढयै छ । एउटा सर्वोच्च अदालतको अधिकृतले लेखेको पत्रका आधारमा रेशम चौधरी समातिएर छुटे,' उनले भने, 'हेर्नुस त, कुशासनको उत्कृष्ट नमुना यही हो ।'

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully