सकियो दोस्रो सिकारयाम : ११ नाउर र सात झारलको सिकार

वैशाख १९, २०८२

रासस

Second Sikarayam completed: 11 Naurs and seven Jharals hunted

ढोरपाटन (बागलुङ) — , १९ वैशाख : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारल मात्र सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो ।

सिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिटर्स प्रालि, ट्र्याक्स एन्ड ट्रेल्स प्रालि, हिमालयन सफारीज प्रालि, ग्लोबल सफारीज नेपाल, नेपाल ट्राभल एक्सपेडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारीज गरी छवटा कम्पनीले अनुमति पाएका थिए । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको फागुने, सुनदह, घुस्तुङ, दोगाडी लगायत ब्लकमा पुगेका थिए ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार, चैत २६ गतेदेखि सिकारी ढोरपाटन आएका थिए । सिकारीले सुनदह ब्लकमा दुई नाउर र दुई झारल, घुस्तुङ ब्लकमा तीन नाउर र तीन झारल, दोगाडी ब्लकमा चार नाउर र एक झारल, फागुने ब्लकमा एक नाउर र एक झारल र बार्सेमा एक नाउरको सिकार गरेका थिए । १२ बँदेलको सिकार अनुमति दिइए पनि एउटा पनि सिकार भएन ।

दोस्रो याम (फागुन–वैशाख) का लागि वैशाख १६ गतेसम्म सिकारीले सिकार खेलेका थिए । सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिटर्स काठमाडौँले सिकारीमार्फत दुई नाउर, दुई झारल र दुई बँदेल सिकार गर्न अनुमति पाएको थियो । यो कम्पनीले एउटा नाउर र एउटा झारल मात्र सिकार गरेको छ । ट्र्याक्स एन्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी सिकारीले दुई नाउर र दुई झारल सिकार गर्ने अनुमति पाएका थिए, र सबै वन्यजन्तुको सिकार गरेको उनले बताए ।

त्यसैगरी हिमालयन सफारीज प्रालि काठमाडौँमार्फत तीन सिकारीले तीन नाउर, एक झारलका लागि अनुमति पाएका थिए, जसमा तीन नाउर र एक झारल सिकार गरेका छन् । ग्लोबल सफारीज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका थिए । तीमध्ये दुई नाउर र एक झारलको सिकार गरेका छन् । नेपाल ट्राभल एक्सपेडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल सिकार गर्ने अनुमति पाएका थिए, तर दुई नाउर मात्र सिकार गरिएको सुवेदीले जानकारी दिए ।

ओपन नेपाल वाइल्डलाइफ सफारीज एन्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएका थिए । तीमध्ये एक नाउर र दुई झारलको सिकार गरेका उनले बताए । दोस्रो सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट सिकारी आएका थिए । ढोरपाटनमा हरेक वर्ष (असोज–मङ्सिर) पहिलो र (फागुन–वैशाख) दोस्रो याममा सिकार हुने गर्छ ।

रासस

Link copied successfully