पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको न्यायिक छानबिन आवश्यक छ: महासचिव गुरुङ

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Judicial investigation of Pokhara International Airport is necessary: ​​General Secretary Gurung

कास्की — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटमा उनले हालै संसदीय छानबिन उपसमितिले दिएको प्रतिवेदनका आधारमा न्यायिक छानबिन गर्नुपर्ने बताएका हुन् ।

महासचिव गुरुङले भने, 'पोखरा विमानस्थलबारे संसदीय समितिले नीतिगत प्रतिवेदन दिएको छ। यसका आधारमा कानुनविद्, इञ्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्तासहितको न्यायिक छानबिन गरिनुपर्छ र दोषीहरू कारबाहीको भागीदार बन्नुपर्छ।'

उनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको वर्तमान सरकारले गर्ने राम्रा कामको माओवादी केन्द्रले जहिले पनि सहयोग र समर्थन गर्ने बताए । 'हामी परम्परागत ढर्राबाट चल्ने प्रतिस्पर्धी होइनौँ। गुण र दोषका आधारमा सरकारको समर्थन वा विरोध गर्छौं। सरकारले राम्रो काम गर्दा विरोध गर्दैनौँ तर हाल दुई ठूलासहितको बलियो सरकार हुँदासमेत राम्रो काम गर्न सकेको छैन,' महासचिव गुरुङले भने।

उनले देशमा प्रतिगामी षड्यन्त्रलाई परास्त गर्न, राष्ट्रिय एकता र स्वाधीनताका लागि शान्तिसम्झौताका सहयात्री दलहरू एकैठाउँमा रहनुपर्ने आवश्यकता औँल्याए ।

कान्तिपुर संवाददाता

Link copied successfully