ओडारचौर–ढोडेनी सडकले किसान र पर्यटकलाई सहज

वैशाख १५, २०८२

प्रकाश बराल

Odarchaur-Dhodeni road is convenient for farmers and tourists

बागलुङ — बागलुङ आएका पर्यटक बेनी जाने र मुस्ताङ पुगेका पर्यटकलाई बेनी हुँदै बागलुङ बजार ल्याउन ७ किमी छोटो बाटो निर्माण गरिएको छ। बागलुङ नगरपालिका–४ ओडारचौरदेखि ढोडेनी हुँदै पर्वतको लस्ती पुग्ने सडक निर्माण गरिएको हो। आगामी असार मसान्तभित्र यो सडक कालोपत्र गर्ने तयारी समेत छ।

यो सडकले पर्यटकलाई म्याग्दी र मुस्ताङ जान छोटो बनाउनेछ। साथै, किसानका उत्पादन बजार पठाउन पनि सहज हुनेछ। यो सडक बनेपछि डेढ घण्टा घुमेर बागलुङमा तरकारी पठाउने ढोडेनीका ७६ वर्षीय जिवानन्द सापकोटाले २० मिनेटमै सदरमुकाम पुग्न सकेको बताए। यो सडक बनेपछि बिरामीलाई समयमा अस्पताल लैजान पनि सहयोग भएको उनले बताए।

यसअघि सिधै बजार आउने बाटो नभएपछि पर्वतको लस्ती, खनियाघाट र मालढुंगा हुँदै यात्रा गर्न स्थानीय बाध्य थिए। उपचारदेखि नगरपालिकाको प्रशासनिक काममा पनि उनीहरूले सास्ती खेप्थे। जंगलको बाटो भएकोले एक्लाएक्लै पैदल हिँड्न पनि सक्थेनन्। तरकारी फलाएर पनि बजारमा ल्याउन निकै गाह्रो थियो।

पर्वतको लस्तीका टेकबहादुर क्षेत्रीले दैनिक दूध ढुवानी गर्न पनि यो सडक सहज भएको बताए। उनले हरेक दिन मोटरसाइकलमा क्यान भिरेर दूध बेच्न बागलुङ बजार आइपुग्छन्। मालढुंगा हुँदै बागलुङ बजार आउँदा उनलाई झण्डै १५ किमी यात्रा गर्नुपर्नेमा यो सडकले आधा छोटो बनाएको बताए।

बागलुङ नगरपालिकाले ओडारचौरदेखि ढोडेनी र गणेश घुम्तीदेखि निरयघाट जोड्ने सडक बनाइरहेको छ। कालीगण्डकीको झोलुंगे पुल तरेपछि निर्माणाधीन सडकबाट सहजै बजार आउन सकिन्छ। यो बाटोले उनको दैनिक एकतर्फी यात्रा ७ किमी छोटो बनाउने भएको छ।

आउजाउ गर्दा दैनिक १४ किमी घटेर उनको समय पनि बचत हुनेछ। पर्वतको लस्ती, धाइरिङ र बागलुङको ढोडेनीका एक सय बढी किसानले फलाएका तरकारी, फलफूल र दूध सबै बागलुङ बजारमा बिक्री गर्छन्। यो सडकले उनीहरूको दैनिकीमा धेरै सुधार ल्याउन थालिसकेको छ। ‘सडक बनिसक्यो भने हामीलाई धेरै नै फाइदा पुग्छ,’ क्षेत्रीले भने, ‘दुःख बिमार पर्दा धौलागिरि अस्पताल आउन पनि सजिलो हुनेछ।’

यो सडकले बेनीदेखि बागलुङ खण्डको ७ किमी सडक छोटो बनाएको छ। मुक्तिनाथ हिँडेका पर्यटकलाई बागलुङ कालिका, शालिग्राम संग्रहालय र पञ्चकोटसम्म लैजान यो सडक उपयोगी हुने बागलुङ नगरपालिका–४ का अध्यक्ष कुमारबिक्रम क्षेत्रीले बताए। मालढुंगा बेनी सडकको लस्तीदेखि बागलुङको ढोडेनीमा कालीगण्डकी नदीमाथि पक्की पुल बनाउन डीपीआर समेत बनिसकेको छ।

सडक बनेपछि खाद्यान्न ढुवानीमा सहज भएको वडा १ का बलबहादुर माझीले बताए। सडकका कारण घरभरी धुलोले सेताम्मे बन्थ्यो। अहिले सडक स्तरीय बनेको छ। ‘अब त धुलो पनि खान पर्दैन होला,’ उनले भने, ‘अप्ठ्यारो पर्दा छोराबुहारीले सजिलै बजार लगिदिन्छन्।’ बागलुङ नगरपालिका १ गणेशघुम्तीदेखि निरयघाट, वडा ४ को ओडारचौरदेखि ढोडेनी र बागलुङ–७ मुलपानीदेखि तितौरेसम्मको साँढे १२ किमी सडकको संरचनासम्मको सबै काम सकिएको आशिष फेवा संयुक्त निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले बताए।

बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रम मार्फत आगामी असार मसान्तभित्र सक्ने गरी वडा ७ मुलपानीदेखि तितौरेसम्मको साढे ८ किमी, ओडारचौरदेखि ढोडेनीसम्मको साढे २ किमी र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमी गरी साढे १२ किमी सडक निर्माण गरिरहेको हो।

विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले ४८ करोडमा उक्त सडक निर्माण गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए। सडक निर्माणको ६४ प्रतिशत प्रगति भैसकेको शर्माको दाबी छ। ‘हामीले संरचनाको काम सकेका छौँ, कतिपय स्थानमा सब बेस पनि बिछ्याई सक्यौँ,’ शर्माले भने, ‘तोकेकै समयमा काम सक्ने लक्ष्य छ।’ केही समयअघि सडकका लागि निर्माण सामग्री उत्खनन गर्ने क्रममा प्रहरी–प्रशासनबाट असहयोग हुँदा काम अझै कमी भएको उनले बताए।

यी सडक निर्माण भएमा ग्रामीण बस्तीका किसानले उत्पादन गर्ने दूध र तरकारीको बजारीकरणमा सबैभन्दा सहज हुनेछ। दाहसंस्कारका लागि निरयघाट र ढोडेनी घाट पुग्न सजिलो हुनेछ। निरयघाट सडक स्तरीय बन्दा यहाँको वृद्धाश्रम, निर्माणाधीन मानवसेवा आश्रममा सामग्री ढुवानीमा पनि सजिलो बन्नेछ।

यी तीनवटै सडक ६देखि ८ मिटर चौडा हुनेछन्। विश्व बैंकले नेपालभर १७ वटा नगरपालिकामा सहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रममा सहयोग गरेको छ। यसअघि विश्व बैंककै सहयोगमा बागलुङको वडा ४देखि ६ सम्मको झण्डै ७ किमी सडक कालोपत्र भैसकेको छ।

उक्त सडकले नगरको चक्रपथ निर्माणमा सहयोग पुगेको छ। बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले नगरसभाले प्राथमिकता दिएका १, २ र ३ नम्बरका सडकमा उक्त लगानी भएको बताए। ‘जनताको हितका लागि काम गरेको हो, त्यसैले समयमा काम सक्नकालागि पहल समेत भएको छ,’ श्रेष्ठले भने, ‘यो सडक समयमा सकिँदा अन्य परियोजना ल्याउन पनि सहज हुनेछ।’

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully