नवलपुर — पूर्वीनवलपरासीको दुम्किबासमा नेपालमा नै पहिलो पटक ‘वन जैविक वस्तु व्यवस्थापन तथा कृषिको दिगोपन’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सुरु भएको छ । विनयी त्रिवेणीको दुम्किबासमा आइतबारसम्म चल्ने सम्मेलनको शनिबार गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले उद्घाटन गरे ।
सम्मेलनको सुरुआत गर्दै सभामुख धितालले प्राकृतिक सम्पदाको समुचित प्रयोगमा सबैले ध्यान दिनुपर्ने बताए । नेपाल प्राकृतिकरुपमा धनि मुलुक भएकाले प्रकृति जोगाउदै यसबाट आर्थिक उपार्जनमा पनी स्थानीयलाई जाड्ने गरेर काम गर्नुपर्ने बताए ।
विनयी त्रिवेणी गाउँपालिका र डिभिजन वन कार्यालयको समन्वयमा विनयी सामुदायिक बन उपभोक्ता समूह तथा नेपाल बायो विज्ञान अनुसन्धान ल्याबको आयोजनामा ‘ वन जैविक वस्तु व्यवस्थापन तथा कृषिको दिगोपन’ सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन भएको हो । विनयी सामुदायिक वनले वनले बायोमास प्रयोग गरेर जैविक मल उत्पादन तथा बिक्री गरेकाले यसैलाई केन्द्रित गरेर सम्मेलन आयोजना गरिएको हो ।
वनमा काम नलाग्ने अवस्थामा रहेका झाडीको व्यवस्थापन गरी जैविक मल बनाउने र त्यसलाई कृषिसँग जोडेर उत्पादन वृद्धि गराउने लक्ष्यलाई देशव्यापी बनाउन सम्मेलन गरिएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । सम्मेलनमा विज्ञ र सरोकारवालाबीच छलफल गरेर घोषणापत्र जारी हुने छ ।
