दशकदेखि अलपत्र भुजीखोला पुल

वैशाख १३, २०८२

प्रकाश बराल

The Bhujikhola bridge has been standing for decades

बागलुङ — तीन करोड ३४ लाख लागतको भुजीखोला पुल २०७४ को माघमा बनिसक्नु पर्थ्यो । तर आठ वर्ष बितिसक्दा पनि यो पुलका दुई वटा पिलर मात्र ठडिएका छन्। अब कहिले बन्छ भन्ने यकिन समेत छैन।

ढोरपाटन नगरपालिका वडा नं ५ को भुजीखोला पुलको यो हविगत भएको दशक पुग्यो । पुल नबनेपछि अलपत्र पिलर समेत जोखिममा परेका छन् । प्राविधिकका अनुसार यहाँ झण्डै २ रोड रुपैयाँ खर्च भइसकेको छ । 

२०७७ सालको भुजीखोलाको बाढीले पश्चिमतर्फको पिलर नजिकै खोलाको आधा भागले जमिन खोलेको छ । जसको कारण थप अर्को पिलर चाहिने अवस्था बनेको छ । त्यसकालागि डिजाइन पनि फेर्नुपर्ने अवस्था छ । तत्कालीन डिजाइन अनुसार यो पुलको ५० प्रतिशत भौतिक प्रगति भएपनि उपयोगविहीन छ। उक्त पुल बनाउन सडक डिभिजन कार्यालयले नयाँ ठेक्का, डिजाइन परिवर्तन लगायतको काम गरेर बिभागमा पठाएको छ । 

रकमको सुनिश्चतता नभएको, कानूनी अड्चन हटाउन बाँकी रहेको र बाँकी कामको लागि प्राविधिक कारणले ठेक्का लगाउन नसकेको कार्यालयका इन्जिनियर सागर भण्डारीले बताए । ढोरपाटन नगरपालिका ५ को अधिकारीचौरमा निर्माण गरिने भुजीखोला पुल ‘वाइपी रफिना संयुक्त निर्माण कम्पनी’ले ठेक्का लिएको थियो ।

२०७३ अजोस ४ गतेको ठेक्का सम्झौता अनुसार काम गरेको भए २०७४ को माघ ४ गते सकिनुपर्ने थियो । लामो समय अलपत्र पारेर अन्तिम पटक २०७७ साल मंसिर १४ मा थपिएको म्यादमा पनि कुनै प्रगति नभएपछि कार्यालयले तीनवर्ष अघि यो पुलको ठेक्का रद्द गराएको थियो ।

ठेक्का रद्द भएपनि स्थानीयले भने हरेक वर्ष यात्रामा सास्ती खेपेका छन् । वर्षातमा जोखिम भएकोले बुढाथर पुगेर घुमाउरो बाटो हिड्न बाध्य छन् । ‘न पुल बन्यो, न यहाँ फड्के हाल्ने ठाउँ रह्यो’ स्थानीय चुडामणी सापकोटाले भने, ‘विद्यालय  आउजाउ गर्न सधैंको सास्ती खेपेका छौं ।’ यहाँको भुजी माबिका बिद्यार्थीले हिउँद र वर्षातमा सास्ती खेपेका छन् ।

डिभिजन कार्यालयका प्राविधिकले आफ्नो तर्फको काम सकेर मन्त्रालयमा फाइल पठाएको पनि तीन वर्ष भइसकेको छ । पछिल्लो समय खोलाको बहाव फेरिइरहेकोले इन्जिनियरहरु नियमित पुगेर फेरिएको संरचना बारे नक्सांकन गर्ने र आवश्यक रकम सहितको प्रतिवेदन लेख्ने काम गरिरहेका छन् । तर आर्थिक संकट भन्दै अर्थ मन्त्रालयले बजेट सुनिश्चत नगर्दा ठेक्का लगाउन नसकेको डिभिजन प्रमुख हरिप्रसाद सुवेदीले बताए ।

सोही समयमा सम्झौता भइ ठेकेदारकै लापरबाहीले दरम खोला पुल पनि अलपत्र छ । गलकोट नगरपालिका वडा नं ८ देखि ९ जोड्ने दरमखोला पक्कीपुल ८ वर्षदेखि अलपत्र परेको हो । पटक-पटक म्याद थप्दापनि काम नगरेपछि सडक डिभिजन कार्यालय बागलुङले सार्वजनिक खरिद ऐनको बर्खिलाप गरेको भन्दै ‘वाइ पी कन्स्ट्रक्सन प्रालि’को ठेक्का रद्द गरेको थियो । 

डिभिजनकै सिफारिसमा संघीय सडक तथा सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सबै प्रक्रिया पुर्‍याएर कम्पनीलाई कालो सूचीमा समेत राखेको छ । ठेक्का रद्द भएपछि बाँकी रकमको पुन: सुनिश्चिता नभएसम्म  नयाँ ठेक्का लगाउन नपाएपछि डिभिजनले पनि काम अगाडि बढाउन नसकेको हो ।

ठेकेदारले अदालतमा मुद्दा दिएपछि डिभिजन कार्यालय पनि अलमलमा परेको हो । २०७९ मंसिर २३ गते कार्यालयको कारवाही गर्ने सूचना उपर ठेकेदारले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । काम गर्न कहिले पनि नआएको ठेकेदारले मुद्दा दिएर कार्यालयलाई अप्ठ्यारो पार्ने काम गरेका थिए, तर अदालतले अन्तरिम आदेश दिनु नपर्ने गरी फैसला गरेपछि कार्यालयलाई ठेक्का रद्द गर्ने बाटो खुलेको थियो । तर नयाँ ठेक्काका लागि भने अर्थको सहमति नपाएर रोकिएको हो । 

दरमखोला पुल पनि निर्धारित समयमा काम गरेको भए २०७५ माघ ९ गते सकिनुपर्ने सम्झौतामा उल्लेख छ । तर त्यहाँपनि तीनपटक सम्मको म्याद थपेर काम अलपत्र छाडेपछि डिडिजन कार्यालयले ठेक्का रद्द गराएको हो । ६ करोड १७ लाख रुपैयाँको ठेक्का सम्झौताको यो पुलमा पनि एकातर्फको पिलर मात्रै ठड्याइएको छ । इन्जिनियरका अनुसार यो पुलको ४० प्रतिशत काम भएको भनिएपनि संरचनामा केहीपनि देखिंदैन । 

डिभिजन प्रमुख हरिप्रसाद सुवेदीले पछिल्लो समय जलवायु परिवर्तनले खोलाहरुमा आउन थालेको बाढीको प्रवाह हेरेर डिजाइन नै फेर्नुपर्ने अबस्था आएको बताए । नयाँ डिजाइन सँगै बजेट सुनिश्चित गर्ने र नयाँ ठेक्का लगाउनकालागि अर्थमन्त्रालयको सहमति चाहिएको उनले जानकारी दिए ।

‘जलवायु परिवर्तनले खोलाहरुमा ठूलो बाढी आउन थाल्यो, पहिलाको डिजाइनले काम गरेन’ सुवेदीले भने, ‘अब उचाइ र अन्य डिजाइन फेरेर मात्रै पुल बनाउनुपर्छ ।’ वर्षौदेखि अलपत्र ती पिलरको उचाइ बढाउँदा तौल थेग्न सक्ने नसक्ने परीक्षण समेत गर्नुपर्ने उनले बताए । थेग्न नसक्ने भएमा ती पिलरको उपयोगिता नहुने उनले बताए ।

गलकोट नगरपालिका वडा नं ९ का अध्यक्ष तेजबहादुर थापाले पुल नहुँदा जनताले सास्ती खेपेको बताए । मध्यपहाडी लोकमार्ग देखि कांडेवास र पचुवा जोड्ने दरमखोला पुल बनेमा यहाँको शिव माबिका विद्यार्थीले सहज यात्रा गर्न पाउँछन् । गाडी चढेर जानुपर्नेले ६ किमी उत्तरतर्फ लागेपछि हटियाबाट मात्र यो खण्डमा सवारी लैजान सकिन्छ । अन्यत्र सवारी लैजाने सडक छैन । राजमार्गमा झारेको सामान बोकेरै काँडेवास, चालिसा, ज्यामिरे र थालेपोखरासम्म लैजानुपर्ने बाध्यता छ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully