स्याङ्जा — सवारी जाँचका क्रममा स्याङ्जा प्रहरीले अवैध खाद्यान्न बरामद गरेका छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको राम्दीमा गरिएको सवारी जाँचमा शुक्रबार बिहान बुटवलबाट पोखरा आउँदै गरेको लु २ ख १९२१ नम्बरको मिनी ट्रकलाई नियन्त्रणमा लिइएको थियो ।
बिल नभएको सामान बरामद गरी राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार गाडीसहित चालक रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ का २४ वर्षीय बसन्त परियार, सहचालक पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ का ४० वर्षीय सुमन विक र रुपन्देही सियारी गाउँपालिका–६ बस्ने ३२ वर्षीय दिप्सन सुनारलाई पनि अनुसन्धानका लागि बुटवल पठाइएको छ ।
उनीहरुले चिनी २ सय १० बोरा (प्रतिबोरा ५० केजी), भुजा ३९ बोरा (प्रतिबोरा ५ केजी) र केराउ १८ बोरा (प्रतिबोरा ३० केजी) बिक्रीका लागि पोखरा ल्याएको प्रहरीले जनाएको छ ।
