जिन्दगी चल्न त चल्या छ...

वैशाख १२, २०८२

रमेशकुमार पौडेल

Life goes on...

लाप्राक, गोरखा — पुरानो ओखरको रूखछेउ चौतारोमा फलामको बेन्चमा बसेका तीन जना पाका मानिस आपसमा गफिरहेका थिए । उनीहरूको सामुन्ने थियो, रंगीन जस्ताले छाएका घरले भरिभराउ लाप्राक गाउँ । २०७२ वैशाख १२ को भूकम्पमा ठूलो क्षति व्यहोरेको लाप्राकमा १० वर्षपछि पुग्दा स्थानीय आ–आफ्नै दैनिकीमा व्यस्त देखिन्थे । कुराकानी सुरु गरेपछि बल्ल उनीहरू भन्थे, ‘अहो १० वर्ष भइसके छ है ।’

गोरखाको धार्चे गाउँपालिका–४ मा पर्ने लाप्राकले भूकम्पअघि पहिरोको जोखिम व्यहोरेको थियो । २०५६ असार १९ मा यहाँ ठूलो पहिरो गएको थियो । २०६३ असोजमा पनि जमिन नै धस्सिने गरी अर्को पहिरो गयो । त्यसपछि भूगर्भविद्ले ४० दिनसम्म स्थलगत अध्ययन गरेर बस्ती सार्न सिफारिस गरे । तर बस्ती नसर्दै ०७२ मा भूकम्प गयो ।

भूकम्पले गाउँका ६ सय घर कुनै सद्दे रहेनन् । ढलेका घरमा परेर गाउँका १८ जनाको निधन भयो । अन्य ठाउँमा परेर सोही गाउँका थप ६ जना गरी भूकम्पले २४ लाप्राकवासीको ज्यान लिएको धार्चे–४ का वडाध्यक्ष किसान गुरुङ बताउँछन् । चौतारोमा गफिँदै बसेका तीन वृद्धमध्ये ९१ वर्षीय हसबल गुरुङ भन्छन्, ‘म गोठमा गएको हुँदा जोगिएको हुँ, धेरैको बिजोग भयो ।’ सन्तबहादुर सुनार त्यो दिन घाँसदाउरा गर्न जंगल गएका थिए । जमिन नै थर्कन थालेपछि उनी भारी फालेर गाउँतिर दौडिए । गाउँमा धूलो उडेर धुली मण्डल भएको थियो । परिवार/बालबच्चा सम्झेर उनी आत्तिए । ‘धन्न त्यो बेला घरमा कोही रहेनछन्, जोगिए । खोरमा भएको एउटा बाख्रा र एउटा भेडा च्याप्पिएर मरेछन्,’ ५५ वर्षीय सन्तबहादुर अहिले परिवारसहित दुःखजिलो गरेर पुरानै गाउँमा बसिरहेका छन् ।

भूकम्प र पहिरो सम्झँदा लाप्राकवासीको मनमा डर नपस्ने हैन । तर प्रायः गाउँले यहीं छन् । ‘यो ओखरको रूख मभन्दा पनि बुढो हो, अझै ठिङ्ग उभिएको छ । बाजेबराजु सबै यहीं बसें, यहीं अस्ताए । हाम्रो पनि मर्ने बेला भइ त गयो । जिन्दगी यहीं गएपछि हामी अब अन्यत्र किन लाग्ने ?’ ८३ वर्षीय विवल गुरुङले भने । ८६ वर्षका लालमान गुरुङले पनि उनको कुरामा समर्थन जनाए ।

गाउँमा कोही खेतीका लागि मल बोक्दै गरेका, कोही ऊन कात्दै त कोही बक्खु बुन्दै गरेका भेटिए । कसैले पसल खोलेर व्यापार गरिरहेका थिए । लाप्राक गाउँको चौतारोमा बसेर गफिने, टिकटक बनाउनेको पनि कमी थिएन । लाग्छ, १० वर्षअघिको भूकम्पको कहाली लाग्दो अवस्था अब सबैले बिर्सिसके । लाप्राकमा यस्तो चहलपहल देखिँदा त्यहाँबाट दुई घण्टा हिँडेर पुगिने गुप्सीपाखाको नयाँ गाउँ भने सुनसान थियो । धार्चे–४ मै पर्ने गुप्सीपाखामा ६ सय ३ घर छन् । सबै भूकम्पपछि तयार भएका हुन् । यी घरहरूको स्वरूप एकनासको छ । तर यी घरमा नियमित बस्ने ६० परिवार मात्रै रहेको वडाध्यक्ष गुरुङ बताउँछन् । ती घरहरू लाप्राकका भूकम्पपीडितका लागि तयार भएका हुन् । तर अधिकांश लाप्राकवासीले पुरानै ठाउँ नछाड्दा नयाँ बस्तीका घरको दैलो बन्द नै देखिन्छ ।

Life goes on...जोखिमयुक्त लाप्राकका बासिन्दालाई राख्न गुप्सीपाखामा एनआरएनले बनाएका घरहरू । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

गुप्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएन) को सहयोगमा घर बनेका हुन् । अभिलेखअनुसार ५७ करोड ६६ लाख ४ हजार रुपैयाँ खर्च भएको छ । एनआरएनले करोडौं रुपैयाँ खर्च गरेर बनाइदिएका यी घरमा बस्न लाप्राकवासीले रुचि नदेखाउनुमा चौतारीमा भेटिएका वयोवृद्धहरू विवल, मसबल र लालमानको जस्तो पुर्ख्यौली थातथलोप्रतिको लगाव पनि एक हो । वडाध्यक्ष गुरुङ थप्छन्, ‘चार/पाँच जना बाजेहरू त हामी बरु यहीं मर्छौं, ठाउँ छाडेर किन जाने भनेर भूकम्पका बेलासमेत माथि आउन मान्नुभएन ।’

भूकम्पले सबै घर भत्काएपछि लाप्राकवासी गुप्सीपाखामा आएर पाल टाँगेर बसे । एनआरएनले घर बनाइदिने पक्का भयो । घर बन्ने भयो भनेपछि पाखामा बसेका सबै गाउँलेहरू फेरि पुरानै ठाउँ फर्किए । सामान सबै बोकेर फर्केका गाउँलेले फेरि नयाँ ठाउँ उक्लन मन गरेनन् । ‘त्यो बेला आधालाई तल जानुस् भनेर आधालाई यहीं राखेर घरहरू बनाउँदै राख्दै गरेको भए यहाँ बस्ने पो थिए कि ! सबैलाई तल जान भनियो । तल गए, यता घर बन्ने बेलासम्म उतैका भत्केका घर मर्मत गरेर बसेपछि फर्कन मानेनन्,’ वडाध्यक्ष गुरुङले भने । उनी लाप्राककै बासिन्दा हुन् । उनी पनि प्रायः पुरानै बस्तीमा बस्छन् ।

Life goes on...चौतारोमा बसेर गफ गर्दै गरेका वृद्धहरू र लाप्राक गाउँ । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

लाप्राकका बासिन्दा खेती किसानी गर्छन् । गहुँ, आलु, मकै त्यहाँको मुख्य बाली हो । भेडा, बाख्रा पनि पाल्छन् । गुप्सीपाखाको नयाँ बस्तीमा तीन आनामा बनेको घर मात्रै छ । जहाँ सानो परिवार त जसोतसो अटाउँछ । खेती गर्न, कुखुरा–बाख्रा पाल्न त परको कुरा करेसाबारीसमेत छैन । ‘खेती गर्न दुई घण्टा धाएर आइजाइ गर्न कसरी सक्नु ? अन्न बोकेर नयाँ बस्ती लैजान पनि उस्तै धौ हुने भयो,’ वृद्ध लालमान गुरुङले भने ।

वडाध्यक्ष गुरुङ गुम्सीपाखामा खानेपानीको अभावका कारण पनि मान्छे नबस्नुको कारण रहेको बताउँछन् । ‘चिसो उस्तै छ । पुस, माघमा मुहानबाट खानेपानी ल्याएको पाइप पानी जमेपछि चिराचिरा भएर फुट्यो । पानीको अभावले पनि यहाँ बस्न गाह्रो छ,’ वडाध्यक्ष गुरुङले भने । पुरानो बस्ती पहिरो र भूकम्पको जोखिमले घेरिएको हुँदा त्यहाँ बस्नु उपयुक्त नभएका कारण माथि गुप्सीपाखा सर्नु नै पर्ने उनले बताए । ‘स्थानीयलाई के गर्दा सुबिस्ता हुन्छ, त्यो प्रबन्ध भए मान्छे आउनेछन् । तल बस्नु त जोखिमै जोखिम छ,’ उनले भने । एनआरएनले ठूलो लगानी गरेको घरमा स्थानीयको पनि श्रम–पसिना परेको छ । ‘जोखिमयुक्त पुरानो बस्तीमा स्थानीयले आफ्नै सुरमा घर बनाएर बसेका हुन् । यी सबै पक्ष विचार गर्दा स्थानीयलाई सुरक्षित राख्न राज्यले तत्कालै कुनै ठोस कदम चाल्नुपर्ने छ,’ वडाध्यक्ष गुरुङ भन्छन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully