कावासोतीका युवकको पोर्चुगलमा मृत्यु

शव नेपाल ल्याइदिन परिवारको आग्रह

वैशाख १२, २०८२

नवीन पौडेल

Cavasotti's young man dies in Portugal

नवलपुर — रोजगारीको सिलसिलामा पोर्चुगल गएका पूर्वी नवलपरासीको कावासोती १६ डन्डाका एक युवकको मृत्यु भएको छ । २५ वर्षका विजय परियारको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । सन् २०२१ मा श्रम स्वीकृति गरेर क्रोसिया गएका परियार तीन महिनापछि पोर्चुगल छिरेका थिए ।

चार वर्षसम्म पोर्चुगलको एक कृषि फर्ममा काम गर्दै आएका परियारको उपचारको क्रममा वैशाख ११ गते मृत्युको खबर आएको मृतक परियारका बुबा निमबहादुर परियारले बताए । 

छोराको मृत्युले शोकमग्न भएका परिवारले शव नेपाल ल्याइदिन सरकार र पोर्चुगलमा रहेका नेपाली समाजलाई आग्रह गरेका छन् । ‘छोरो बिरामी थियो भन्ने थाहा थियो, सन्चो हुन्छ चिन्ता नलिनु बुबा भन्थ्यो, ’ उनले भने, ‘बुधबारसम्म फोनमा कुरा गरेको छोरोको बिहीबार मृत्युको खबर आयो । छोराको मुख हेर्न मन छ । जसरी भएपनि शव नेपाल ल्याइदिन सबैले सहयोग गर्नुहुन आग्रह गर्दछु ।’ 

२५ वर्षको लक्का जवान छोराको मृत्युको खबरले परिवार र पूरा गाउँ नै शोकमा डुबेको छ । अघिल्लो दसैंमा घर आएर तिहारपछि पोर्चुगल फर्किएका थिए । नेपाल आउँदा पनि स्वास्थ्यमा समस्या देखिएपछि जाँच गर्दा फोक्सोमा पानी जमेको र नसा सम्बन्धी समस्या देखिए पनि विदेशमा नै उपचार गर्ने भन्दै गएको बुबा निमबहादुरले बताए ।

कावासोती १५ का वडा अध्यक्ष आनन्द श्रेष्ठले मृतक परियारको शव नेपाल ल्याउनका लागि आवश्यक सहजीकरण गरेको बताए । वडा कार्यालयले नवलपुर सम्पर्क समाज पोर्चुगललाई पत्राचार गरेर आवश्यक कानुनी तथा प्राविधिक सहयोगका लागि पनि आग्रह गरेको छ । नेपालमा स्वास्थ्य जाँच गरेर औषधी लिएर गएका परियार पोर्चुगल पुगेको केही समयपछि बिरामी परेका थिए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully