पूर्वी नवलपरासीमा कारागार नहुँदा कैदीबन्दीलाई छिमेकी जिल्ला पठाउनुपर्ने बाध्यता

वैशाख ११, २०८२

नवीन पौडेल

As there is no jail in East Nawalparasi, prisoners have to be sent to neighboring districts

नवलपुर — पूर्वी नवलपरासीमा कारागार नहुँदा प्रतिवादी तथा अदालतबाट सजाय फैसला भएका कैदीबन्दीलाई छिमेकी जिल्ला चितवन र पश्चिम नवलपरासी पठाउनुपर्ने बाध्यता छ । 

संघीयतापछि साविकको नवलपरासी जिल्ला विभाजन भएर पूर्वी र पश्चिम नवलपरासी भएको थियो । साविकको कारागार पश्चिम नवलपरासीमा परेपछि पूर्वी नवलपरासीमा कारागार छैन । जसले गर्दा प्रहरीलाई पुर्पक्षका लागि कारागार चलान हुने र जिल्ला अदालतबाट मुद्दाको अन्तिम फैसला भएपछि कारागार चलान गर्नुपर्ने कैदीबन्दीको व्यवस्थापनमा समस्या हुँदै आएको छ । 

जिल्लाभन्दा बाहिर कैदीबन्दी र प्रतिवादी लैजाँदा सुरक्षा चुनौती , जनशक्ति अभाव तथा ओसारपसारका लागि सवारीसाधन समेत अभाव हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादव ढकालका अनुसार २०७९/८० मा ३४ जनालाई पश्चिम नवलपरासी र ७९ जनालाई चितवनको भरतपुर कारागार पठाइएको थियो । २०८०/८१ मा २४ जनालाई पश्चिम नवलपरासी र ६४ जनालाई भरतपुर कारागार चलान गरिएको थियो । चालु आर्थिक वर्षमा ३६ जनालाई पश्चिम नवलपरासी, ५६ जनालाई भरतपुर कारागार, ५ जनालाई पोखरा बाल सुधार गृह र १ जनालाई बाल सुधार गृह भैरहवा पठाइएको छ । 

‘जिल्लामा कारागार नहुँदा प्रहरीलाई प्रतिवादी र कैदीबन्दी ओसारपसारमा समस्या छ । टाढा लैजानुपर्ने भएकाले कैदीबन्दी ओसार्ने सवारी पनि हामी सँग छैन,’ प्रहरी उपरीक्षक ढकालले भने, 'अहिले दाउन्ने खण्डको सडकको अवस्था र दुरीका हिसाबले पनि समस्या छ ।'

कतिपय अवस्थामा सार्वजनिक सवारीमा प्रतिवfदी बोकेर छिमेकी जिल्लामा लैजानुपर्ने पनि बाध्यता छ ।जिल्लामा अधिकांश सरकारी कार्यालय भाडाको घरमा छन् । नमुना सदरमुकाममा सबै सरकारी कार्यालय एकै स्थानमा निर्माण गर्ने योजनाअनुसार काम भए पनि कारागारजस्तो संवेदनशील कार्यालय प्राथमिकतामा परेको छैन । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully