घरधन्दादेखि उद्योगसम्ममा व्यस्त महिलाहरु

वैशाख १०, २०८२

सम्झना रसाइली

Busy women from home business to industry

तनहुँ — औद्योगिक ग्रामको स्थापनासँगै आँबुखैरेनी गाउँपालिकाका महिलाहरु घरायसी कामकाजबाट निस्केर उत्पादनशील काममा सक्रिय भएका छन् ।

युट्युबमा राखिएका भिडियोहरु हेरेर सीप सिक्दै मुढा, नाङ्लो जस्ता बाँसजन्य सामग्री उत्पादनमा जुटेका उनीहरु स्थानीय स्रोत साधानको प्रयोग गर्दै आर्थिक आत्मनिर्भरसमेत बन्न थालेका छन् । ‘पहिले घरायसी काममै सिमित थिएँ’, आँबुखैरेनी गाउँपालिका–३ ढकालटारकी गौरी गुरुङ भन्छिन्, ‘अहिले मुढा बनाएर कमाएको पैसाले घर चलाउन र श्रीमान्‌लाई सहयोग गर्ने भएकी छु ।’

युट्युबमा भिडियो हेरेर मुढा बनाउन सिकेको बताउने गुरुङ अहिले व्यवसायिक रुपमा बाँसजन्य सामाग्री उत्पादन गर्नमा व्यस्त छिन् । तीन महिनाअघि टुथपिक र चपस्टिक बनाउने तालिम लिएकी गुरुङले युट्युबमा राखिएको भिडियो हेरेर मुढा बनाउन पनि सिकिन् । 

‘हातमा केही सीप भएपछि कतै रोजगारी पाइहाल्छु कि भन्ने आशामा थिएँ । गाउँपालिकाले घरनजिकै स्थानीय उत्पादनको प्रयोग गरी औद्योगिक ग्राम सञ्चालनमा ल्याएपछि म अहिले घरको कामधन्दा सकेर दिउँसोको समयमा मुढालगायत विभिन्न सामाग्री बनाउने काम गर्छु’, उनले भनिन्, ‘औद्योगिक ग्रामले हामीलाई रोजगारी दिएको छ तर, यहाँ जडान गरिएका मेशिन बिग्रिँदा बाँसबाट आवश्यक सामग्री तयार गर्न निकै गाह्रो भएको छ ।’

Busy women from home business to industry

२८ वर्षीया गुरुङ मात्र होइन, २६ वर्षीया रश्मि नेपालीले पनि यही रोजगारी पाएकी छन् । उनी भन्छिन्, ‘पहिले समय बिताउने काम थिएन । अहिले भने मुढा बनाएर ३ महिनामा करिब ४० हजार रुपैयाँ कमाउन सफल भएकी छु ।’

औद्योगिक ग्राममा रोजगार पाएपछि आफूमा पनि आँट आएको नेपाली बताउँछिन् । ‘पहिला घरधन्दामै समय बित्थ्यो । आफ्ना लागि खर्च जोहो गर्न पनि समस्या थियो’, उनले भनिन्, ‘अहिले आत्मबल बढेको छ । घरको काम सकेर औद्योगिक ग्राममा आएर आफूले सिकेको सीपको उपयोग गर्दा आमदानीको राम्रो माध्यम बनेको छ ।’

स्थानीय महिला, विशेषगरी पिछडिएको वर्गका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले २०८१ असारबाट औद्योगिक ग्राम सञ्चालनमा ल्याइएको हो । यहाँ हाल बाँसजन्य सामग्री बनाउने काममा १२ जना र फलामजन्य सामग्री तयार गर्नेमा ४ जनाले रोजगारी पाएका छन् ।

Busy women from home business to industry

यस्तै उत्पादित वस्तुको बजार फराकिलो नहुनु चिन्ताको विषय बनेको ६० वर्षीया सानुमाया भुजेल बताउँछिन् । ‘अहिले हामीले बनाउने बाँसजन्य सामग्री हाम्रै पालिकाभित्रबाट मात्रै माग आउँछ’, उनले भनिन्, ‘यहाँ उत्पादित सामग्री पालिका बाहिराका बजार क्षेत्रमा पनि पठाउने व्यवस्था भए आम्दानी पनि राम्रो हुने थियो र धेरैले रोजगारी पनि पाउने थिए ।’

सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि ‘एक स्थानीय तह : एक औद्योगिक ग्राम’ बनाउने नीतिअनुसार १२० वटा औद्योगिक ग्राम घोषणा गरिसकेको छ । सरकारको उक्त नीतिअनुसार सञ्चालनमा आएको तनहुँको आँबुखैरेनी गाउँपालिकाको औद्योगिक ग्रामबाट बाँस तथा फलामजन्य सामग्री उत्पादन सुरु भएको छ । करिब ९० रोपनी क्षेत्रफलमा २ वटा टहरा निर्माण गरी बाँसबाट सोफा सेट, झोलुङ्गा, डाइनिङ सेट, मुढा, नाङ्लो लगायतका सामग्री र फलामजन्य व्यायाम सामग्री, ठेलागाडा, पिङ, कृषि औजार, डेक्सबेन्च लगायतका सामग्री पनि उत्पादन गरिन्छ ।

Busy women from home business to industry

स्थानीय स्रोत र साधन प्रयोग गरी उत्पादन गर्ने र गाउँमै रोजगारीको अवसर सिर्जना गरी आर्थिक सशक्तिकरणमा टेवा पुर्‍याउने उद्देश्य रहेको औद्योगिक ग्रामका मेकानिकल इन्जिनियर बिमलबाबु रानाले बताए । ‘व्यवस्थित रुपमा उद्योगकै रुपमा चल्नको लागि भौतिक संरचनाको अपुग छ’, उनले भने, ‘पालिकाले नै सधैं सहयोग गर्दा अप्ठ्यारो हुन्छ । त्यसैले पब्लिक पाट्नरसिपको योजनाबाट अगाडि बढ्नुको लागि छलफल भइरहेको छ ।’

यस्तै, स्थानीय जनशक्ति, सीप, स्रोतसाधन र आधुनिक उपकरण प्रयोग गरी बाँस र फलामजन्य सामग्री उत्पादन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । ‘गाउँमै उपलब्ध स्रोत र सीपलाई उपयोग गर्दै आधुनिक उपकरणमार्फत माग भएअनुसारको सामग्री उत्पादन थालिएको हो’, उनले भने, ‘गाउँपालिकाभित्र रहेका विपन्न समुदायलाई घरेलु सीप सिकाएर आयआर्जनसाग जोड्ने हाम्रो लक्ष्य छ ।’

औद्योगिक ग्रामको स्थापना मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत गरिएको हो । उनले भने, ‘नवीनतम् ज्ञान, सीप, सोच र सिर्जनशीलता प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले उद्योग स्थापना गरेको हो । यसमा प्रदेश सरकारको आर्थिक सहयोग प्राप्त भएको छ ।’

Busy women from home business to industry

संघ, प्रदेश र पालिकाको लगानीमा उक्त औद्योगिक ग्राम सञ्चालनमा ल्याइएको छ । उनका अनुसार हालसम्म संघको एक करोड ९० लाख र प्रदेश र पालिकाको साझेदारीमा एक करोड ८० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । औद्योगिक ग्रामलाई दिगो र स्थायी रूपमा सञ्चालन गर्न ‘कम्पनी मोडल’मा लैजाने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । 

आगामी दिनमा १० वटा साना तथा मझौला उद्योग थपेर स्थानीय स्तरमै एक सय जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित औद्योगिक ग्राममा बाँसजन्य सामग्री (मुढा) तयार गर्दै स्थानीय महिलाहरु । तस्बिर सम्झना/कान्तिपुर

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully