तनहुँ — डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किँदा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ ।
डुम्रेतर्फ लमजुङ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर ठक्कर खाँदा माइक्रोबसमा सवार मनाङको नार्फु गाउँपालिका–८ का ४० वर्षीय मन घले तथा स्कुटरमा सवार लमजुङको बेँसीसहर नगरपालिका–८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
घलेको लमजुङस्थित नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा तथा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक बेँसीसहर नगरपालिका–८ का ४१ वर्षीय दीपेन्द्र श्रेष्ठलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।
बेँसीसहर–२ भकुमथोककी ७८ वर्षीया कृष्णकुमारी पाण्डे, ४३ वर्षीया तित्थकुमारी थापा र ३२ वर्षीया मनिका गुरुङको लक्ष्मी अस्पताल डुम्रेमा र अन्यको सिउडीबारस्थित भोटेओडार अस्पतालमा उपचार भइरहेको छ ।
माइक्रोबसका चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
