अर्जुनचौपारीमा औद्योगिक ग्राम सञ्चालन

वैशाख ६, २०८२

प्रतीक्षा काफ्ले

Operation of Industrial Village at Arjunchoupari

स्याङ्जा — जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ छयालिसको बगरस्थित औद्योगिक ग्राम सञ्चालनमा ल्याइएको छ । अर्जुनचौपारी गाउँपालिकाले संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा विभिन्न ५ वटा उद्योग सञ्चालनमा ल्याएको हो ।

दरौखोला नदी किनारको ३५ रोपनी सार्वजनिक जग्गामा २०८१ साउन २७ गतेदेखि सञ्चालनमा ल्याइएको हो । यहाँ ढुंगा कटिङ गर्ने उद्योग तीन, ब्लक र फर्निचर एक/एक गरी ५ वटा उद्योग सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । 

अध्यक्ष तिवारीका अनुसार औद्योगिक ग्राम सञ्चालनका लागि संघीय र प्रदेश सरकारले आर्थिक सहयोग गर्दै आएका छन् ।

गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा सञ्चालन गरिने अभियान भए पनि अहिलेसम्म केही पालिकामा मात्र उद्योग ग्राम सञ्चालनमा आएका छन् । 

गण्डकी प्रदेश सरकारले स्थापनासँगै एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रम सञ्चालनको अभियान सुरु गरेको थियो । नीति तथा कार्यक्रम र बजेटमा समेत प्राथमिकतामा राखिएको उक्त कार्यक्रमले फिल्डमा सोचेअनुरुप नजिता दिन सकेको छैन ।

अर्जुनचौपारीको उद्योग ग्राम सञ्चालनका लागि संघीय सरकारबाट २ करोड २२ लाख बजेट विनियोजन गरिएको थियो । यस्तै, प्रदेश सरकारले ४५ लाख र गाउँपालिकाले ४२ लाख रुपैयाँ लगानी गरेका छन् । पालिकाले उद्योग सञ्चालनका लागि आवश्यक सुविधासँगै सहजीकरण गर्दै आएको अध्यक्ष तिवारीले बताए ।

अर्जुनचौपारी निवासी सञ्जीव रोकाय आफ्नै पालिकामा औद्योगिक ग्राम सञ्चालनमा आएपछि स्थानीयले प्रत्यक्ष रोजगारी पाएको बताएका छन् । स्थानीयलाई रोजगारसँगै उद्योगबाट पनि सजिलै सेवा लिन सकिने बताए ।

प्रतीक्षा काफ्ले

Link copied successfully