पोखराको आपत्कालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण

वैशाख ५, २०८२

अनुप पौडेल

Pokhara's emergency warehouse was handed over to the provincial government

कास्की — पोखराको पुरानो विमानस्थलस्थित आपत्कालीन गोदामघर गृह मन्त्रालयले गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । विश्व खाद्य कार्यक्रमको सहयोगमा निर्माण गरिएको गोदाम घर शुक्रबार पोखरामा आयोजित कार्यक्रममार्फत प्रदेशलाई हस्तान्तरण गरिएको हो । 

हस्तान्तरणको क्रममा गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारबीच ५ बुँदे सहमति भएको छ । गोदाम घरका कर्मचारी र सुरक्षाकर्मीलाई विश्व खाद्य कार्यक्रमले आवश्यक तालिम र प्राविधिक सहयोग गर्ने, गोदाम घरमा विद्यमान सहायता सामग्रीको विवरण प्रदेश विपद् व्यवस्थापन समितिको रोहबरमा प्रदेश सरकारले तोक्ने गोदाम प्रमुखलाई बुझाउने, हस्तान्तरण गरिएका सामग्रीको सुरक्षा, थप सामग्री प्राप्ती, पुनर्भरण, भण्डारण परिचालन, स्तरीकरण, अभिलेख व्यवस्थापन र बीमासम्बन्धी काम प्रदेश सरकारले गर्ने, हस्तान्तरण प्रक्रिया सम्पन्न गर्ने क्रममा आवश्यक समन्वय र सहजीकरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्ने र गोदाम घर संचालनसम्बन्धी अन्य व्यवस्था राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत आपत्कालीनगोदामघर सञ्चालन कार्यविधि, २०८१ बमोजिम हुने सहमति छ । सहमति पत्रमा गृहमन्त्री रमेश लेखक र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हस्ताक्षर गरे । 

गृहमन्त्री लेखकले राहत र सहायता सामग्री वितरण र व्यवस्थापन सहज बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए । जोखिमबाट जनतालाई बचाउन तयार रहनुपर्छ भन्ने उद्देश्यले गोदाम घर बनाइएको उनले बताए । ‘हामी जोखिमपूर्ण भूगोलमा छौं । एक हप्तामा ३ वटा भूकम्प व्यहोर्‍यौं । जतिबेला जे पनि हुनसक्छ । त्यो मानसिकताका साथ तयारीमा बस्नुपर्छ,’ उनले भने ।  स्थानीय तहमा पनि सानो आकारको गोदाम घर बनाउन उनले प्रदेश सरकारलाई आग्रह गरे । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोदाम घर प्रदेश मातहत हुँदा एकद्वार प्रणालीबाट राहत वितरण र उद्दारमा सहज हुने बताए । ‘गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिम बढी छ । समयमै राहतका सामग्री हस्तान्तरण गर्न र उद्दार गर्न सहज हुन्छ भन्ने विश्वास लिएका छौं,’ उनले भने । प्रदेश सरकारको गोदाम घरका सामग्री पनि शुक्रबार हस्तान्तरण भएकै गोदाम घरमा भण्डारण गरिने उनले बताए । 

गत असोज ९ देखि सञ्चालित गोदाम घरमा ७ सय मेट्रिक टन भण्डारण क्षमता छ । गोदाम घर पोखरा विमानस्थलको दक्षिण–पूर्वी भागको १ हजार ५ सय वर्ग मिटर (२ रोपनी) क्षेत्रफलमा बनेको छ । यहाँ कन्टेनर भण्डारण स्थल र सभा कक्षसहितको ४ प्रिफ्याब कार्यालय छन् । यसबाहेक ७ हजार ५ सय लिटर क्षमताको इन्धन भण्डारण ब्ल्याडर छ । गोदाम घर १ लाख ६१ हजार अमेरिकी डलर (करिब २ करोड २५ लाख ४० हजार रुपैयाँ)लागतमा बनाइएको थियो ।   

अनुप

Link copied successfully