२५ करोड लगानीमा गण्डकीको संसद् भवन बनाइँदै

८४ माघ १८ सम्म निर्माण सक्नुपर्ने सम्झौता

वैशाख ४, २०८२

अनुप पौडेल

The parliament building of Gandaki is being built with an investment of 25 crores

कास्की — प्रत्येक वर्ष नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा रहँदै आएको गण्डकी प्रदेशसभा भवन निर्माणको काम अन्ततः ७ वर्षपछि अगाडि बढेको छ । २५ करोड रुपैयाँ खर्च गरेर पोखरा–३ नदीपुरस्थित हालकै भवन पछाडिपट्टि ७ रोपनी क्षेत्रफलमा नयाँ भवन बनाउन लागिएको हो । 

नगर विकास प्रशिक्षण केन्द्रको स्वामित्वमा रही प्रदेश सरकारसँग भोगाधिकार भएको १ सय १० रोपनीमध्ये ७ रोपनीमा नयाँ भवन बन्ने शहरी विकास तथा भवन कार्यालय कास्की प्रमुख सी.डी.ई ओमराज ढुंगानाले जानकारी दिए । कार्यालयले श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँबानेश्वर काठमाडौंसँग भ्याटसहित २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा माघ १८ मा निर्माण सम्झौता गरिसकेको छ । ३६ महिना (३ वर्ष)भित्र निर्माण कार्य सक्नुपर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता गरिएको प्रमुख ढुंगानाले बताए । 

सम्झौताअनुसार ०८४ माघ १८ सम्म संसद् भवन बनाइसक्नुपर्ने हुन्छ । निर्माणको जिम्मा पाएको कम्पनीले गत सातादेखि निर्माण स्थल सफाइको काम थालेको छ । निर्माण व्यवसायीले २ करोड २१ लाख ९० हजार रुपैयाँ मोबिलाइजेसन रकम लगिसकेको उनले जानकारी दिए । निर्माण स्थलमा रहेको एउटा टहरा भत्काएपछि भवनको शिलान्यास गर्ने तयारी छ । सहरी विकास तथा भवन कार्यालय कास्कीअन्तर्गत सरकारले चालु आर्थिक वर्षमा प्रदेशसभा भवन निर्माणका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

The parliament building of Gandaki is being built with an investment of 25 croresप्रदेशसभा भवन निर्माण स्थलमा रहेका संरचना हटाएर सफाइ गरिँदै । तस्बिर : अनुप पौडेल/कान्तिपुर 

३ तले भवनको भुईंतलामा ५ वटा संसदीय दलको बैठक कक्ष र ५ वटा भीआईपी कार्यालय बनाइने छ । मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिवालय सचिवको कार्यालय भुईंतलामा रहनेछ । 

पहिलो तलामा संसद् बैठक कक्ष रहनेछ । त्यहाँ ७८ जना अट्ने गरी च्याम्बर बन्नेछ । साथै पिजन होल, सामान्य र भीआईपी कक्ष, मार्सल अफिस, कार्यव्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फेरेन्स र टिभी स्टुडियो सोही तलामा रहनेछन् । दोस्रो तलामा ८० जना क्षमताको दर्शक दीर्घा, बहुउद्देश्यीय बैठक कक्ष, स्टोर र बार्दली रहनेछ । तेस्रो तलामा के–के राख्ने भन्ने तय भएको छैन । भवनमा २ वटा लिफ्ट पनि हुनेछ । भवन बाहिरपट्टि चमेनागृह, पार्किङ बनाइनेछ । 

हाल प्रदेशसभा रहेको भवन स्थानीय तथा नगर विकास प्रशिक्षण केन्द्रले ०४९ सालमा बनाएको हो । यो बहुउद्देश्यीय हल तत्कालीन श्री ५ को सरकार र संघीय गणतन्त्र जर्मन सरकारको जर्मन टेक्निकल कर्पोरेसन (जी.टी.डी)ले बनाएका थिए । ०४९ असोज १ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हल उद्घाटन गरेका थिए । हल साँघुरो भएकाले सांसद ‘कोचाकोच’ हुनुपर्ने बाध्यता छ । दोस्रो कार्यकालमा प्रदेशसभा सचिवालयले दर्शक र पत्रकार बस्ने सिट कम गरेर सांसद बस्नेतर्फको ठाउँ फराकिलो बनाएको छ जसले केही हदसम्म सहज भएको छ । 

प्रदेशसभाको पहिलो कार्यकालमा सरकारले १ अर्ब ४१ करोड रुपैयाँको इस्टिमेट तयार गरेको थियो । प्रदेश सरकार एक्लैले त्यति ठूलो लगानी गर्न नसक्ने र संघ सरकारले पनि सहयोग नगर्ने भएपछि त्यतिबेला काम अघि बढेन । यसपटक भ्याटसहित ४४ करोड ९४ लाख ९१ हजार रुपैयाँको लागत इस्टिमेट तयार गरिएको थियो । ०८१ साउन २१ मा बोलपत्र आव्हान् गरिएकोमा ३५ निर्माण कम्पनीले भवन बनाउने प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये २६ कम्पनी छनोट भएकोमा सबैभन्दा कम लागत प्रस्ताव गरेको श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँ बानेश्वर काठमाडौंले निर्माणको जिम्मा पाएको हो । 

बहालवाला सांसद् नयाँ भवनमा बस्न पाउने छैनन् किनकि ०८४ मंसिरमा उनीहरुको कार्यकाल सकिन्छ । सम्झौताअनुसार ०८४ माघ १८ सम्म निर्माण कार्य सकिएमा तेस्रो कार्यकालका सांसद नयाँ भवनमा चल्ने संसद् बैठकमा सहभागी हुन पाउनेछन् । 

अनुप

Link copied successfully