कास्की — पोखरामा आयोजित राष्ट्रिय हेम्जा आलु महोत्सवमा ४१ लाख रुपैयाँ बराबरको आलु बिक्री भएको छ ।
पोखरा महानगरपालिका–२५ हेमजामा विष्णुपादुका युवा क्लबको आयोजनामा ११ दिनसम्म चलेको महोत्सवमा स्थानीय आलु बिक्रीमा राखिएको थियो ।
महोत्सवमा ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको क्लबका सचिव हिक्मतबहादुर थापाले जानकारी दिए ।
त्यसमध्ये ४१ लाख रुपैयाँ बराबरको ९७ हजार ६ सय किलो आलु बिक्री भएको हो । महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलुको कारोबार भएको थियो । आलु बिक्री गर्न आलुको पहाड नै बनाइएको थियो । स्वादिष्ट र छिटो पाक्ने भएकाले हेमजामा उत्पादित आलु निकै रुचाइन्छ ।
महोत्सवमा आलुबाहेक अन्य तरकारीको खरिदबिक्री, आलुका परिकार बिक्री, माटो तथा बोटविरुवा परीक्षण, कृषि यन्त्र प्रदर्शनी तथा रोगको निदानबारे जानकारी र कृषक तथा कृषिसम्बन्धी सांस्कृतिक कार्यक्रम भए ।
महोत्सवमा कृषितर्फ ३० र १ सय २० वटा व्यापारिक स्टल थिए । महोत्सवकै अवसरमा हल गोरू पाल्ने स्थानीय कृषक विजय रानामगर, हरिकुमार परियार र गंगाबहादुर कार्कीलाई १०/१० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
हेमजामा जन्मिएर नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याएको भन्दै भाषाविद् मुकुन्दशरण उपाध्यायलाई पनि सम्मान गरिएको थियो ।
महोत्सवको बुधबार पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले समापन गरिन् । उनले पोखराकै ब्राण्ड बनेको महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सफल भएको बताइन् ।
