तनहुँ — तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा कालोपत्र सुरु गरिएको छ। पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत दमौली बजारमा कालोपत्रको काम सुरु गरिएको हो।
दमौली बजार क्षेत्रमा एक/डेढ महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णु पाण्डेले जानकारी दिएका छन्। ‘पूर्वी खण्डमा जम्मा करिब साढे ४ किलोमिटर कालोपत्र गर्नु बाँकी छ। त्यसमध्ये दमौली बजार क्षेत्रको लगभग १.८ किलोमिटर सडक खण्डमा कालोपत्र सुरु गरेका छौं,’ उनले भने, ‘चालु आर्थिक वर्षभित्रै पूर्वी खण्डको कालोपत्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएका छौं।’
वि.सं. २०२५ मा रेखाङ्कन गरिएको मुग्लिन–पोखरा सडकलाई पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरेर सडक विस्तार कार्य भइरहेको छ। विसं २०८१ वैशाखसम्म काम सक्ने लक्ष्य राखेर चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता गरेको थियो। तर, तोकिएको समय अवधिमा काम सम्पन्न नभएपछि तेश्रोपटक म्याद थप गरी कामलाई निरन्तरता दिइएको छ।
योजनाका इन्जिनियर पाण्डेले भने अनुसार, मार्च महिनाको अन्त्यसम्ममा करिब ८२ प्रतिशत भौतिक प्रगति र ६३ प्रतिशत आर्थिक प्रगति हासिल गरिएको छ। ४१.४५ किलोमिटर दूरी रहेको पूर्वी खण्डमा ७५ किलोमिटर एकतर्फी सडकको पहिलो तहको कालोपत्र गरिएको छ। उनले थपे, ‘यस खण्डमा करिब ३६ किलोमिटर ४ लेन सडक कालोपत्र गरिएको छ।’
त्यस्तै, जामुने–पोखरा सडक विस्तारका लागि २०७८ जेठ ३ गते चिनियाँ कम्पनी एनहुई केयुयन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा (सेती पुल बाहेक) ठेक्का सम्झौता गरेको थियो। ३८.८८ किलोमिटर दूरी रहेको पश्चिमी खण्डको करिब ५० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिइएको छ।
