पोखरा — कास्कीबाट कुलमण्डन शाहका छोरा यशोब्रह्म शाहलाई ल्याएर राजा बनाउन लमजुङको घले राजालाई हटाउन भूमिका खेलेका खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । दुरा सेवा समाजले आफ्नो ३२ औं वार्षिकोत्सव समारोहमा उक्त माग गरेको हो ।
दुरा जातिको वर्चस्व रहेको लमजुङको मध्यनेपाल नगरपालिका–१० हाँडीखोलामा आयोजित वार्षिकोत्सव समारोहमा उनीहरुले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष माग राखेका हुन् । वार्षिकोत्सवमा बोल्दै दुरा जातिका अगुवाले खजे दुराले दुरा जातिका लागि मात्र नभई राज्यका लागि समेत ठूलो योगदान दिएकाले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने चर्चा गरे ।
समाजका केन्द्रीय अध्यक्ष सुरेशकुमार दुराले विसं १५५० देखि दुरा जाति नेपालमा रहेको सुनाए । उनका अनुसार खजे दुराले घले राजालाई हटाउन कास्कीबाट पहिला कुलमण्डन शाहका जेठो छोरा कालु शाहलाई लमजुङमा ल्याएर राजा बनाउन चाहेका थिए । उनलाई कुशुमाकर घिमिरेसमेतको साथ थियो । तर घले राजाले कालु शाहको बाटोमै हत्या गरे । खजे दुराले पुनः कुलमण्डनका कान्छा छोरा डेढ वर्षीय जशंभु (यशोब्रह्म) शाहलाई ल्याएर राजगद्दीमा बसाएका थिए । समाजका केन्द्रीय उपाध्यक्ष बलबहादुर दुराले दुरा जाति राज्यको तर्फबाट छायामा परेको गुनासो गरे ।
वार्षिकोत्सव समारोहमा बोल्दै सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्न आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने बताए । उनले तत्कालका लागि दुरा भाषामा समाचार प्रकाशन, प्रसारण गर्नुका साथै लमजुङे ठाडो भाकाका सर्जक देउबहादुर दुराको हुलाक टिकट प्रकाशन गर्ने प्रतिबद्धता जनाए । ‘सरकारले अहिले २५ भाषामा रेडियो नेपालमा समाचार पढ्ने र ४५ भाषामा गोरखापत्रमा समाचार प्रकाशन गर्ने गरिरहेको छ,’ उनले भने, ‘अब २६ औं र ४६ औं भाषा दुरा भाषा बनाउनका लागि तत्कालै निवेदन दिनुहोला ।’
दुरा जाति लोपोन्मुख अवस्थामा पुगिरहेको अवस्थामा भाषा र लिपिको विकास गर्दा अस्तित्व जोगिने उनको भनाइ थियो । पछिल्लो समय राजावादीको सक्रियता बढेको सुनाउँदै उनले अल्पसंख्यक जातिका लागि नै संघीयता आएको बताउँदै राजावादीतर्फ नलाग्न समेत अनुरोध गरे । ‘अल्पसंख्यक जातिको संस्कृति जोगाउने संघीयताले नै हो, राजावादीले होइन,’ उनले भने, ‘त्यसैले राजाको पछि नलाग्नुहोला ।’
लोपोन्मुख अवस्थामा रहेको जातिको उत्थानका लागि स्वयं सचेत भई आर्थिक तथा सामाजिक सम्मुनतका लागि समेत युवालाई सुरक्षा निकाय, निजामति कर्मचारी बनाउनुपर्नेमा उनको जोड थियो । ‘पुर्खाहरुले पेन्सन पाउन र ब्रिटिस आर्मीमा जानकै लागि गुरुङ लेखाउँदा आफ्नो मौलिक र वास्तविक जाति हटाउन बाध्य भएको विषयमा समेत राज्य गम्भीर छ,’ उनले भने, ‘अब आफ्नै मुल जाति लेखाउन पाउने गरी व्यवस्था गर्न लागेका छौं ।’
