बागलुङ नगरको फोहोर व्यवस्थापनमा ३६ करोड ७७ लाख खर्च गरिँदै

संकलित फोहोरलाई पुन: प्रयोग र अन्य सामग्री बनाउने योजना सुरु

वैशाख २, २०८२

प्रकाश बराल

367.7 million is being spent on waste management in Baglung city

बागलुङ — बागलुङ नगरपालिकाले नगर क्षेत्रमा संकलन हुने फोहोरलाई पुन: प्रयोग र फोहोरबाट अन्य सामग्री बनाउने योजना सुरु गरेको छ । 

फोहोर व्यवस्थापनमा चुनौती बेहोरिरहेको नगरले समानता अभियान नेपालसँग फोहोर व्यवस्थापनको सम्झौता गरेको हो । अभियानका प्रमुख चन्द्रकान्त पौडेल र बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले मंगलबार सम्झौता गरे । सम्झौतामा नगरपालिकाले ५ प्रतिशत र अभियानले ९५ प्रतिशत आर्थिक भार बेहोर्दै फोहोर व्यवस्थापन गर्न ३६ करोड ७७ लाख रुपैयाँ खर्चनेछन् । 

हाल फोहोर फालिएको वडा नं १ को खुतुर्केमा शून्य फोहोर अभियान चलाएर व्यवस्थापन गरिनेछ । त्यसका लागि तत्काल चाहिने केही उपकरण र सवारीसाधन समेत अभियानबाटै ल्याइनेछ । उक्त फोहोरलाई उपयोगी सामग्री बनाउने काम गरिने पौडेलले बताए । 

फोहोर व्यवस्थापन गर्दा डम्पिङ साइट दुर्गन्धिन नहुने, पुन: उपयोग गरेर फोहोरबाटै पैसा कमाउन सकिने लगायतको लक्ष्य राखिएको छ । ‘हामी नदी, जंगल र पानीको पूजा गर्छौं, तर त्यहीँ फोहोर भइरहेको छ, त्यो हुन नदिन यो परियोजना सञ्चालन गर्न लागेका हौं,’ पौडेलले भने, ‘उपयोगी सामग्री बनाउने लक्ष्य पनि छ ।’ फोहोर व्यवस्थापनका लागि फिल्ड हेर्न आएका रसियाका उद्यमीले प्लास्टिकजन्य फोहोरबाट कलम लगायतका सामग्री बनाएको बताए । 367.7 million is being spent on waste management in Baglung city

लामो समयदेखि नगरपालिकाले फोहोर व्यवस्थापनको काम गर्न खोजे पनि दुर्गन्धले सास्ती थियो । मालढुंगा कुश्मीसेरा सडक, कालीगण्डकी नदी र काठेखोला किनार दुर्गन्ध भएकाले स्थानीयले सास्ती खेपेका थिए । आफूहरूले अफ्रिकामा समेत काम गरिसकेको अभियानकी प्रमुख चाँदनीले बताइन् ।

नगरपालिकाले यसअघि तीन प्रकारका बाल्टिन दिएर फोहोर संकलनको काम थालिसकेको छ । ती फोहोर कसरी संकलन गर्ने भन्नेबारेमा बालबालिकाको इको क्लब गठन गर्ने, अभिभावकलाई सचेतना बढाउने काम पनि हुनेछ । प्रदूषणरहित नगर बनाउने, बायोग्यास प्लान्ट निर्माण र फोहोर व्यवस्थापन नजिकै स्विमिङ पुलसमेत बनाउने योजनाको लक्ष्य छ । 

उक्त स्थानमा तीन खण्ड बनाएर कुहिने, नकुहिने र सिसाजन्य लगायतका खतरा फोहोरको व्यवस्थापन गर्न केही संरचनासमेत नगरपालिकाले बनाइसकेको छ । चालु वर्ष नगरपालिकाले १ करोड रुपैयाँ खर्चेर संरचना बनाइसकेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

२०५४ सालदेखि नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहोर फालेको थियो । वडा नं. १ को खुतुर्केमा फाल्दै आएको फोहोरको डंगुर पनि खाली गराइएको छ । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फाल्दा यहाँको १० रोपनी जग्गा भरिएको थियो । कुहिने फोहोर कम्पोस्ट मल बनाउने र नकुहिने प्लास्टिकजन्यलाई पुन: प्रयोगमा पठाउने लक्ष्य राखिएको छ । कुहिने फोहोरलाई केही महिनादेखि कम्पोस्ट मलका रुपमा प्रयोगमा ल्याउन थालिसकिएको छ । 

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully