जग्गा नपाएपछि नगरपालिकाले फोहोर व्यवस्थापनदेखि औद्योगिक ग्रामका योजना अगाडि बढाउन सकेन
बागलुङ — ग्रामीण बस्ती मिलाएर आठ वर्षअघि घोषणा भएको जैमिनी नगरपालिकाले पूर्वाधार विकासका संरचना निर्माणमा सास्ती खेप्दै आएको छ । नगर क्षेत्रभित्र महत्त्वपूर्ण र दीर्घकालीन योजना सञ्चालन गर्न जग्गा अभावले जनप्रतिनिधि हैरान भएका हुन् । जग्गा नपाएपछि नगरपालिकाले फोहोर व्यवस्थापनदेखि औद्योगिक ग्रामका योजना अगाडि बढाउन सकेको छैन ।
लामो समयदेखि जैमिनी नगरपालिकाले केन्द्र रहेको कुश्मीसेरा बजारदेखि जैमिनीधाम जाने सडकमा फोहोर फाल्दै आएको छ । उक्त फोहोरले ठेउले खोलामा दुर्गन्ध फैलन थालेको छ ।
निर्माणाधीन कुश्मीसेरा जैमिनीधाम सडक चौडा पार्दा फोहोरले सडकमा यात्रा गर्नेलाई पनि असर पर्न थालेको स्थानीयको गुनासो छ । हाल जैमिनी धामदेखि कुश्मीसेरा जाने सडक निर्माणाधीन छ । सडक चौडा र स्तरीय बनाउने क्रममा उक्त फोहोर फाल्ने स्थान पनि भत्किने भएपछि नगरपालिकालाई थप चुनौती थपिएको छ । सडक चौडा पार्दा फोहोर खोलामा जाने खतरा छ ।
नगरपालिकाले तीन वर्षदेखि साना तथा मझौला उद्योगलाई एकीकृत गरेर सञ्चालन गर्ने तयारी गर्दा जग्गाकै अभाव भएको नगर उपप्रमुख हरिहर शर्माले बताए । ‘हामीले औद्योगिक ग्राम बनाउने सपना देखेका छौं, तर जग्गाको व्यवस्थापनमा चुनौती भयो,’ शर्माले भने, ‘एकमुष्ट जग्गा नपाउँदा रकम भएर पनि खर्चन पाएनौं ।’
औद्योगिक ग्रामका लागि कम्तीमा ३५ देखि १ सय रोपनी जमिन भएमा मात्र तोकिएका उद्योग सञ्चालन गर्ने र त्यसका लागि भौतिक निर्माणका लागि प्रदेश सरकारले अनुदानसमेत दिने व्यवस्था छ । जग्गाकै अभावले जैमिनीले दुवै काम सुरु गर्न नसकेको हो ।
सानो खोंचमा बसेको कुश्मीसेरामा नगरको मुकाम छ । स्थानीयले दिएको जग्गामा प्रशासकीय भवन बन्दै छ । ठेकेदारको लापरबाहीले गत माघमा म्याद सकिँदा भवनको ५० प्रतिशत मात्रै काम भएको छ । अन्य योजनाका लागि जग्गा खोज्दा नपाएपछि नगर कार्यपालिकाको टाउको दुखाइ भएको हो ।
जैमिनीमै निर्माण गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन, प्रहरी चौकी लगायतको काममा समेत जग्गा बाधक बनेको नगरप्रमुख नरबहादुर पुनले बताए । ‘सानो ठाउँ छ, कसैले जग्गा दिँदैनन्, किन्नै खोज्दा पनि पाउन मुस्किल छ, त्यसैले हाम्रा अधिकांश योजनामा असर परेको छ,’ पुनले भने, ‘पाखो क्षेत्रमा पुग्दा पनि सरकारी बजेट हो भनेर मनलाग्दी मूल्य भन्छन् ।’ उचित जग्गा पाए केही देखिने काम गर्न सकिने उनको भनाइ छ ।
जनप्रतिनिधिले केन्द्रीय तहसम्म समन्वय गरेर जैमिनीमा केही योजना, सडक र कार्यक्रममा बजेटको व्यवस्थापनसमेत गरेका छन् । तर जग्गा अभावमा कतिपय काम चाहेर पनि गर्न नसकिएको शर्माले जनाए । पहिलो चरणमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाले वडा नम्बर ५ को केही जग्गा व्यवस्थापनको तयारी गरेको छ ।
‘तत्काल फोहोरको दुर्गन्ध पनि नआउने, खोला र सडकमा पनि फाल्नु नपर्ने स्थान भेटेका छौं, त्यसलाई औपचारिकता दिन बाँकी छ,’ पुनले भने, ‘कम्तीमा ३० वर्षका लागि ४ रोपनी जमिनको व्यवस्थापन भएको हो ।’ उक्त जग्गा थोरै भएकाले थप खोजी भइरहेको पुनले बताए ।
औद्योगिक ग्रामका लागि भने कम्तीमा ३५ रोपनी चाहिने भएपछि नगरपालिकालाई चुनौती थपिएको हो । वडा नम्बर १ को कुश्मीसेरामा त्यतिको जमिन नभेटेपछि वडा ५ कै बिनामारेमा जग्गाको खोजी भएको हो । ‘नवप्रवर्तन कार्यक्रमअन्तर्गत बाँस उद्योगका लागि चालु वर्ष पनि १ करोड बजेट छ, काम गर्न सकेका छैनौं,’ पुनले भने, ‘भिरालो जग्गा भए पनि सम्याएर औद्योगिक ग्राम बनाउने तयारीमा छौं ।’
उद्योग ग्रामका लागि बिजुलीसमेत चाहिने भएकाले सबस्टेसनसमेत समयमा स्थापना गर्न विद्युत् प्राधिकरणलाई समेत सहयोग गर्ने गरी जग्गाको व्यवस्थापनमा लागेको उपप्रमुख शर्माले जनाए । प्रहरी चौकी निर्माणका लागि पनि तोकिएको जग्गा अभाव भएकाले खोजीमा लागेको उनको भनाइ छ । हालको जिपपार्क नजिकैको जग्गामा केही थप गरेर प्रहरी चौकी निर्माणको पहल भएको उनले बताए ।
नगरभित्र व्यवस्थित वधशाला, रंगशाला र पार्कलगायत भौतिक संरचना निर्माणका लागि पनि जग्गाको खोजी भइरहेको वडा नम्बर १ का अध्यक्ष विष्णुप्रसाद आचार्यले जनाए । भूगोल ठूलो भए पनि पूर्वाधार बनाउने स्थान धेरै सानो भयो, त्यसैले उचित जग्गा पाउनै मुस्किल भएको उनको भनाइ छ । कुश्मीसेरादेखि बुटवलसम्म, सदरमुकाम र पोखरासम्म पनि जिप र बस सञ्चालन हुन थालेकाले उचित बसपार्क र जिपपार्कको पनि आवश्यकता रहेको उनले बताए ।
