पिकअप जिप पल्टिँदा ११ घाइते, दुईको अवस्था गम्भीर

वैशाख १, २०८२

प्रकाश बराल

11 injured, two in critical condition when pickup jeep overturns

बागलुङ — यात्रु बोकेको पिकअप जिप पल्टिँदा बागलुङको तमानखोलामा ११ जना घाइते भएका छन् । तमानखोला गाउँपालिका-२ को कटेरीमा ब्रेक फेल भएर गाडी सडकमै पल्टिएको थियो । 

सोमबार दिउँसो पौने १ बजे ग १ ज ५७०५ नम्बरको जिप पल्टिएको हो । घटनामा गलकोट नगरपालिका-१ की ३० वर्षीय मुना विक र रुकुम चौरजहारी नगरपालिका-१३ का २३ वर्षीय नवीन मल्ल गम्भीर छन् । विकको शरीरका विभिन्न भागमा र मल्लको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । घटनास्थल सदरमुकामदेखि १ सय २० किमि पश्चिमको ग्रामीण बस्तीमा पर्छ । 

गम्भीर घाइतेलाई बुर्तिबाङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धौलागिरि अस्पतालमा पठाइएको छ भने अन्यको बुर्तिबाङमै उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङ र बोङगादोभान प्रहरी चौकीबाट गएको टोली र स्थानीयले घटनाको उद्धार गरेका थिए ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully