बुटवल–नारायणगढ खण्ड अवरुद्ध : विनयी खोलाको डाइभर्सन बाढीले बगाएपछि कालीगण्डकी कोरिडोरबाट यात्रा गर्न प्रहरीको अनुरोध

चैत्र ३०, २०८१

नारायण शर्मा

Butwal-Narayangadh section blocked: Police request to travel through Kaligandaki Corridor after Vinayi Khola diversion was washed away by flood

नवलपरासी — आज बिहानको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्किवासस्थित विनयी खोलाको डाइभर्सन बाढीले बगाउँदा बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

यातायात अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख प्रहरी उपरीक्षक (एसपी) यादव ढकालका अनुसार विनयी खोलामा आएको बाढीले डाइभर्सनमा राखिएका सबै नौ वटा कल्भर्ट बगाएको छ। पानीको बहाव नघटेसम्म तत्काल मर्मत गरी सडक सञ्चालन गर्न नसकिने भएकाले कम्तीमा भोलि साँझसम्म यातायात सुचारु हुन मुस्किल देखिएको छ।

एसपी ढकालले भने, 'खोलाको बहाव निकै बढेको छ र डाइभर्सन पूर्ण रूपमा बगेको छ। पानी नघटेसम्म अस्थायी सडक बनाउन सकिने अवस्था छैन। त्यसैले यो खण्डमा तत्काल ओहोरदोहोर गर्न सकिँदैन।'

यात्रुहरूको सहजताका लागि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। पूर्व–पश्चिम यात्रा गर्ने सवारीसाधनहरूलाई गैंडाकोट–रामपुर–कालीगण्डकी कोरिडोर सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

तर, प्रहरीका अनुसार उक्त कोरिडोर सडकखण्डमा पनि आज (शनिबार) साना सवारी साधन मात्र सञ्चालन गर्न सकिनेछ। सडक सफा गर्ने कार्य जारी रहेकाले भोलि (आइतबार) देखि मात्र सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने जनाइएको छ। 

त्यसैगरी, बुटवलबाट काठमाडौँ, झापा लगायत पूर्वतर्फ जाने सवारी साधनलाई स्याङ्जा (रामदी, गल्याङ) वा पाल्पा (रामपुर) हुँदै गैंडाकोट निस्केर यात्रा गर्न सुझाइएको छ।

एसपी ढकालले आफू र प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेसहित सडकका प्राविधिक र इन्जिनियरहरूको टोलीले बाढी प्रभावित विनयी खोला र दाउन्ने सडकखण्डको निरीक्षण गरेको जानकारी दिए। तत्काल गर्न सकिने उपायबारे प्राविधिक टोलीसँग छलफल भइरहेको उनले बताए।

महेन्द्र राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड विस्तारका क्रममा विनयी खोलामा पुल निर्माण भइरहेकोले करिब ४ महिनाअघि अस्थायी डाइभर्सन बनाइएको थियो।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully