लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका–७, भोजेमा भालुको आक्रमणबाट एक जना युवक सख्त घाइते भएका छन् । सख्त घाइते भोजेका २६ वर्षीय टेकप्रसाद गुरुङको गण्डकी अस्पताल पोखरा लगिएको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेतिर उनलाई भालुले आक्रमण गरेको हो । भोजे सामुदायिक जंगलमा साथीहरुसँग कुरिलो टिप्न जाँदा भालुले आक्रमण गर्दा युवक घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए । उनका अनुसार गुरुङको अनुहार र शरीरमा चोट लागेको र अवस्था गम्भीर रहेको छ ।
वडा अध्यक्ष लक्षुमन गुरुङका अनुसार ३ जना युवकहरु कुरिलो खोज्न गाउँ माथिको पुरनासा (पुरानो गाउँ) को भग्नावशेष जंगलमा गएको बेला भालुले गुरुङमाथि आक्रमण गरेको हो । आक्रमणमा परेपछि उनले हारगुहार गरेको र दुई जना साथीहरु पुगेपछि भालु भागेको वडा अध्यक्ष गुरुङले बताए ।
