कोरोनाले 'लखेटिएका' लालबहादुरको लोभलाग्दो कृषिकर्म

चैत्र २९, २०८१

प्रकाश बराल

The tempting agricultural work of Lal Bahadur who was 'chased' by Corona

बागलुङ — उनले दुई दशकसम्म 'मुग्लान'को सुखदु:ख भोेगे । भारतका विभिन्न स्थानमा बसेर होटल तथा रेस्टुरेन्टमा काम गरे । त्यही अनुभवले आफैले रेस्टुरेन्ट पनि चलाइभ्याए । त्यो अवधिमा केही पैसा कमाए । तर उनको प्रगतिबारे गाउँले बेखबरजस्तै थिए ।

विश्वलाई नै सताएको कोरोना महामारीले उनलाई भारतमा टिक्न दिएन । 

नेपाल फर्केको ५ वर्षमै गाउँघरमा उनको मेहनतको चर्चा छ । नहोस् पनि किन, २०७७ सालमा भारतबाट फर्केका उनले ५ वर्षमै कृषि कर्मबाट सफलता पाएका छन् । 

गलकोट नगरपालिका-२ बजिनीका ४३ वर्षीय लालबहादुर खत्रीको सफलताको कथा हो यो । 

उनी यतिबेला गलकोटका अब्बल किसानका रुपमा चिनिएका छन् । हरेक दिन उनी गाउँलेका घरअगाडि पुग्छन्- दूध र तरकारी लिएर ।

२० वर्षको भारत बसाइमा उनले धेरै समय त मजदुरीमै बिताए । पछिल्लो समय रेस्टुरेन्ट खोलेर केही कमाइ गर्न थालेका थिए, कोराना संक्रमणले बन्द भयो । सरुवातमा दुई भैंसीले पाएको सफलताबाटै उनी हौसिए र पशु थप्दै लगे । लामो समय भारतमा बसेकाले गाउँमा काम गरेर खान्छ भन्नेमा उनका छिमेकीले शंका गरे । ऋण दिन पनि मानेनन् । तर उनले थोरै लगानीबाट थालेको काम ५ वर्षमै ४० लाख लगानीमा पुगिसकेको उनी बताउँछन् । दुईवटा भैंसी पालेर थालेको फार्म अहिले लोभलाग्दो भइसकेको छ ।

गाउँको घर सडकबाट टाढा परेकाले उनले फाँटमा फार्म सुरु गरे । नरेठाँटी नजिकैको फाँटमा गाईभैंसी मात्रै होइन उनले बाख्रा र कुखुरासमेत पालेका छन् । बारीमा ताजा तरकारी फलाएका छन् । यो काम गर्न उनले अहिलेसम्म ४० लाख खर्च गरिसकेको बताए । 

अहिले त खत्री र उनकी पत्नी रीतालाई कामले फुर्सदै छैन । गाईभैंसीको दूध बजार पठाउने काममा लालबहादुर आफै खटिन्छन् । उनले ‘रिहातिलक एकीकृत कृषि फार्म’ सञ्चालनमा ल्याएका छन् । फार्ममा अहिले एक दर्जन भैंसी, ४० बाख्रा, १ सय लोकल कुखुरा छन् ।

दैनिक ५० देखि ७० लिटर दूध उत्पादन गरेर हटिया, नरेठाटी र डाँडाखेत बजारमा घरघरै पुर्‍याउने काम गर्छन् । मौसमी र बेमौसमी तरकारी पनि उनले दूधसँगै बजार पठाउने गरेका छन् । समय समयमा खसीबोका र कुखुरा पनि बिक्री हुन्छन् । उनले लोकल जातको कुखुरा र बोयर बाख्रा पनि पालेका छन् । 

घरबाटै जिउँदो खसीबोका र लोकल कुखुरा प्रतिकेजी ७ सय रुपैयाँमा बिक्री गरेको उनले बताए । हिजोआज उनी डोकोमा तरकारी र घरघरमा दूध लगिदिने किसानको रुपमा चिनिएका छन् । कतिपय उपभोक्ता त बारीमै आइपुग्छन् भने कतिपयले मगाउने गर्छन् । यो काम गर्दा मासिक ३ लाखसम्म कमाइ हुने खत्रीले बताए । 'वर्षमा ३५ लाखसम्म कमाइ भएको छ । १० लाखसम्म बचत गर्न सकेका छौं,' उनले भने, 'खसीबोका बिक्री गर्दा छुट्टै कमाइ हुन्छ, नियमित भने दूध र तरकारी बेच्छौं । उत्पादन गर्न सके बजारको समस्या छैन ।’The tempting agricultural work of Lal Bahadur who was 'chased' by Coronaगलकोटमा अझै पनि तरकारी र अण्डा आयात भइरहेको छ । स्थानीयले उत्पादन बढाउनुपर्ने नगर कृषि शाखाका प्रमुख पूजा रेग्मीले बताइन् । ‘किसानलाई अनुदान दिएर उत्पादन बढाउने लक्ष्य राखेका छौं,’ उनले भनिन्, ‘अझै ताजा तरकारी र अण्डा बाहिरबाट आयात भइरहेको छ ।’ खसीबाख्रा, कुखुरा पाल्ने तथा ताजा तरकारी उत्पादन गर्ने किसानलाई प्रोत्साहनका लागि कार्यक्रम बनाएको उनले बताइन् । 

गलकोट-२ का अध्यक्ष हिमबहादुर भण्डारीले खत्रीजस्ता किसानलाई प्रोत्साहन गरेर कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन पहल भएको बताए । ‘लालबहादुर नगरकै मेहेनती किसान हुन्, त्यसैले हामीले कृषि कर्ममै रमाउने बनाउन पशुपालनमा अनुदान समेत दिएका छौं,’ भण्डारीले भने, ‘दूधको बिक्रीमा सहजीकरण गर्ने, तरकारी बिक्रीका लागि नगरपालिकाले स्टलको व्यवस्थापन गर्ने जस्ता काम भएका छन् ।’ 

नगरपालिकाले किसानको उत्पादन भण्डारण र बिक्रीका लागि एक वर्षअघि नै हाटबजार स्थापना गरिसकेको छ । त्यसबाहेक आवश्यकताअनुसार भण्डारणको व्यवस्थापन भइरहेको उनले बताए । 

पशुस्वास्थ्य शाखाका प्रमुख चिन्तामणि शर्माका अनुसार गलकोटमा दैनिक १ लाख १३ हजार लिटर दूधको आवश्यकता भएकामा अहिले ९१ हजार लिटर मात्रै उत्पादन छ । अझै २४ हजार लिटर आयात गर्नुपरेकाले किसानलाई थप प्रोत्साहन गर्नुको विकल्प नभएको उनले बताए । गलकोटमा दैनिक एक हजार अण्डा अभाव भएर बाहिरबाट झिकाउनुपरेको छ । 

मासुसमेत वार्षिक २ लाख केजीसम्म आयात गर्नु परेकाले खसीबोका पालनमा किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम बनाएको शर्माले जानकारी दिए । गलकोटमा वार्षिक ६ लाख केजी मासु आवश्यक पर्नेमा ४ लाख ८० हजार केजी मात्र उत्पादन भएको हो । मध्यपहाडी लोकमार्गको छेवैमा भएकाले उत्पादन बढाएर बाहिर पठाउन सक्ने गरी किसानलाई प्रोत्साहनका कार्यक्रम थप गरिएको उनी बताउँछन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully