तनहुँ — तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहराबाट ढुंगा खसेर लाग्दा मंगलबार एक जनाको मृत्यु भएको छ । राजमार्ग विस्तारको क्रममा उक्त खण्डको काम गर्न प्रयोग भएको चाइनिज कम्पनीको जि २–०१३ नम्बरको एक्स्काभेटर चालकलाई भीरबाट खसेको ढुंगाले लागि घाइते बनाएको जिल्ला प्रहरी निरीक्षक राजु अधिकारीले बताए ।
उनका अनुसार एक्स्काभेटर मर्मतका क्रममा चालक व्यास नगरपालिका–९ का ४० वर्षीय सुकबहादुर गुरुङलाई भीरबाट अचानक खसेको ढुंगाले लागी घाइते भएका थिए । घाइते गुरुङलाई मोती अस्पताल डुम्रेमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि भरतपुर चितवन रिफर भएकोमा चिकित्सकद्वारा मृत घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
