माटाेमा रमाइरहेका ५६ वर्षीय निलराज

पाँचवर्ष साउदीमा बसेर फर्केका निलराजले हिजोआज चार रोपनी जग्गा भाडामा लिएर पुरी एग्रो फार्म सञ्चालन गरेका छन् । जहाँ उनले बाह्रैमासे मौसमी र बेमौसमी खेती गर्छन् ।

चैत्र २५, २०८१

सुमनजंग थापा

56-year-old Nilraj enjoying the mud

काठमाडौँ — ५६ वर्षीय निलराज पुरीको कुश्मा नगरपालिका–७ साझाचोकमा घर छ । उनी बिहान ७ बजे नै १५ मिनेटर हिँडेर पुगिने खरेहास्थित तरकारीबारी पुग्छन् । साँझसम्मै निलराज त्यहीँ हुन्छन् । पाँचवर्ष साउदीमा बसेर फर्केका निलराजले हिजोआज चार रोपनी जग्गा भाडामा लिएर पुरी एग्रो फार्म सञ्चालन गरेका छन् । जहाँ उनले बाह्रैमासे मौसमी र बेमौसमी खेती गर्छन् । खेतीपातीमा रमाइरहेका उनले सुनाए, ‘किसानले फलाएको अनाज खाएर दुनियाँ बाँचेका छन् । मैले माटोलाई देउता र फललाई प्रसाद मानेको छु ।’

कृषि पेशामा निलराजको मन रमाउन थालेको एक दशक हुन आटिसक्यो । यही भएर त उनी टन्टलापुरे घाम होस् कि, कठ्याङ्ग्रिदो चिसो प्रवाह गर्दैनन् । बरु कुश्मा बजारमा साइकल गुडाउँदै तरकारी बेच्न निस्किन्छन् । कुश्माका रैथाने उनलाई अक्सर उत्पादित तरकारी बेच्न समस्या छैन । किनकी चिनजानेकाहरुले फोनबाट तरकारी ल्याइदिन भन्छन् भने कतिपय तरकारी किन्न उनको बारीसम्मै पुग्छन् । पुरीले भने, ‘पैसा कमाउन थरिथरिका सजिला पेसा पनि छन् । दिनभरी चर्को घाममा शरीर डढाएर पसिना बगाउन सजिलो त छैन । तर मनलाई भित्रैबाट छुने सन्तुष्टिको अघि शारीरिक थकान फिक्का पर्दो रैछ ।’

यो वर्ष भने निलराजले काउली बेच्न समस्या झेले । ‘सबै किसानको बारीमा एकैपल्ट काउली उत्पादन भयो । अनि त बजारमा सित्तैमा दिँदा पनि नखाने स्थिति भयो’, उनले भने, ‘गाउँका किसानहरुले घन्टौं हिँडेर डोकोमा बोकेर ल्याएको तरकारीले मूल्य नपाउँदा मनमा साह्रै पीडा हुने रहेछ ।’

उनले आफ्नो तरकारी बारीमा ग्रिन हाउस बनाएका छन् । त्यहिँभित्र उनी काउली, बन्दा, घिरौँला, मुला, बोडी, सिमी, काँक्रा, टमाटर, खरभुजा र खुर्सानी फलाउँछन् । तरकारीका बेर्ना उत्पादन गर्थे उनी फार्म सञ्चालन गर्नुअघि ।

कुश्मा बजारका उनी मिहिनती कृषकमा पर्छन् । पहिले दुर्लुङचोक र साझाचोकमा थोरै तरकारी र बेर्ना उत्पादन गर्दै आएका उनलाई ठूलो तरकारी फार्म सञ्चालन गर्ने इच्छा जागेपछि सात वर्षअघि खरेहा पुगेका हुन् ।

युवा उमेरमा पैसा कमाउने सपना बोकेर साउदी हान्निएका थिए उनी । पाँचवर्ष साउदीमा बसेका उनले तरकारी खेतीमा काम गर्थे । ‘नेपाल फर्केर तरकारी खेती गरेको भए धेरै अघि पुग्थेँ । सजिलो र चल्ने पेसा गरौँ भन्ने भयो होला, नौ वर्षजति कपडा पसल चलाएँ’, उनले भने, ‘अरबको मरुभूमिमा खेती गरेर आएको मान्छे, आफ्नै उब्जाउ माटोप्रति हेला गरेको अनुभूति भएपछि व्यवसायिक कृषि कर्ममा पाइला टेकेको हुँ ।’

पुरीले सानै उमेरदेखि खेतबारीको काम गरेर बुवाआमालाई सघाउने गर्थे । कुश्माको रैथाने भएकाले जमिन धेरै थियो । मकै, कोदोदेखि तरकारीहरु फलाउने, पशुचौपाया र घाँस दाउरा गर्ने जिम्मा पुरीकै हुन्थ्यो ।

पुरी विदेश जान जायजेथा बेच्न पछि नपर्ने युवाहरुलाई बिस/तीस हजार कमाउन विदेश जानुभन्दा आफ्नै खेतबारीमा कोदालो चलाउन सुझाव दिन्छन् । भूगोल हेरेर घरका पाखाहरुमा अदुवा, बेसार, अलैँची लगाउन सके बजार मूल्य राम्रो पाउँन सकिने उनी बताउँछन् । ‘आम्दानी हुने देशमा गएकाले राम्रै गरे होलान्’, उनी भन्छन्, ‘घरखर्च बल्लतल्ल धान्ने देशमा पुगेका युवासँग अलिक वर्षपछि न जवानी रहन्छ न पैसा ।’

वर्षमा दश/बाह्र टन तरकारी र बेर्ना बेच्दा मासिक ६० हजार रुपैयाँ जति बचत हुने उनी बताउँछन् । उनका अनुसार बजारमूल्य अनुसार पनि रकममा तलमाथि हुन्छ । परिवारमा दुई छोरी, एक छोरा र श्रीमती छन् । उनको अनावश्यक खर्चपर्च नहुने हुँदा परिवारको सामान्य इच्छा पूरा गर्न सकेकोमा खुसी छन् ।

एउटी छोरी बेलायतमा पढ्न पुगेकी छिन् । छोरी छिट्टै नेपाल फर्कनेमा उनी विश्वसत छन् । ‘बस्नेगरी गएकी हैन । उसलाई त्यहाँ बस्ने रहर पनि छैन । दुई/चार वर्षमा त नेपाल आइपुग्छिन्,’ उनी भन्छन् । अर्की छोरी नेपालमै रोजगारी गर्छिन् भने छोरा कक्षा दुईमा पढ्छन् ।

राज्यले किसानको उत्पादनलाई बजारीकरणमा मदत गर्न सक्नुपर्ने बताउँछन् । अनुदानले किसानलाई धेरै राहत हुने गरे पनि उत्पादित वस्तुले बजार नपाउँदा किसान मारमा परेर पलायनको स्थिति आएको पुरीको अनुभव छ । ‘तीनवटै सरकारले बरु थोरै मूल्यमा किसानको उत्पादन खरिद गरी उपभोक्तालाई सस्तोमा बिक्री गर्ने व्यवस्था मिलाओस्’, पुरी भन्छन्, ‘वर्षभरी खेती गरेर किसानले डोकोमा उकाली ओराली गर्दै बजारसम्म ल्याइपुर्‍याएको उत्पादन नविकेर रुँदै घर फर्कन नपरोस् ।’

माटोमा खेल्दा निरोगी भइने उनको बुझाइ छ । अब स्वस्थ्य रहिरहन पनि खेतीपातीलाई निरन्तरता दिने उनको अठोट छ । ‘आफ्नै पसिनाले सिञ्चित गरेको विषादीरहित तरकारी खान पाएको छु’, पुरी अनुहारमा कान्ति ल्याउँदै भन्छन्, ‘अथाह पैसा कमाएर पनि के गर्नि हो र?, मरेर लाने केही होइन । मेरो अन्तिम इच्छा भनेको बुढ्यौलीमा पनि माटो छुइरहन सकुँ ।’

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully