गोरखा — बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँरामा झण्डै तीन सातादेखि बिजुली नहुँदा स्थानीय समस्यामा परेका छन् । स्वाँरा गाउँका स्थानीयले प्रयोग गर्दै स्तुलखोला लघु जलविद्युत्मा प्राविधिक समस्या आएसँगै ६ सय ५० घरधुरीका स्थानीय समस्यामा परेका हुन् ।
‘बिजुली नहुँदा सारै समस्यामा परेका छौं, मोबाइल चार्ज गर्न पनि एक घण्टा लगाएर छिमेकी गाउँ सौरपानी पुग्नुपरेको छ,’ स्थानीय अमरबहादुर गुरुङले भने, ‘२०/२२ दिन भयो, गाँउभरी बिजुली छैन, बत्ती नहुँदा सारै समस्या पर्दोरहेछ ।’ ७० किलोवाट क्षमताको स्तुलखोला लघु जलविद्युत्को मेसिनको फित्ता चुँडिएपछि विद्युत् उत्पादन हुन नसकेको उनले बताए ।
लघु जलविद्युत्मा देखिएको प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जलविद्युत् व्यवस्थापन समितिका सचिवसमेत रहेका गुरुङले बताए । ‘स्वीजरल्यान्डबाट फित्ता मगाउँदै छौं, अब एक सातामा आइपुग्ला, त्यत्ति दिनसम्म बिजुली बाल्ने अर्को उपाय छैन,’ उनले भने ।
केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेको स्वाँरा गाउँका स्थानीयले लघु जलविद्युत्बाट विद्युत् उपभोग गर्दै आएका थिए । ‘अहिलेसम्म यति ठूलो समस्या त देखिएको थिएन,’ उनले भने,‘यही बिजुलीले एक दर्जन टोलका बासिन्दालाई सहज बनेको थियो, केन्द्रीय विद्युत् प्रसारण लाइनको बिजुली पनि आइसकेको छैन, सबैभन्दा ठूलो कुरो बत्ती बाल्नै पाएनौं, मोबाइल चार्ज गर्न, कुटानीपिसानीमा पनि समस्या भएको छ ।’
बिजुली नभएपछि स्थानीयले उज्यालोका लागि मैनबत्ती प्रयोग गर्ने गरेका छन् । स्वाँरामा केन्द्रीय लाइनको विद्युत् पुर्याउन पोल राखेर तार टाङ्ने काम भइरहेको छ । केन्द्रीय प्रसारण लाइनको काममा ढिलाइ हुँदा समस्यामा परेको स्थानीयले गुनासो गरेका छन् ।
