गोरखा — सुनचाँदीका गरहगहना सरसफाइ गरी चम्काइदिने भ्रममा पारी रासायनिक पदार्थको प्रयोगबाट गहनाको तैल घटाई ठगी गरेको आरोपमा दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार सिरानचोक गाउँपालिका–६ भलयाडाँडाबाट भारत विहार प्रदेश जदिया सुपौली घर भएका ३२ वर्षीय पिन्टु शाह र ४१ वर्षीय सन्तोषकुमार शाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय महिला, वृद्धवृद्धाले लगाइराखेको तथा साथमा रहेको सुनचाँदीको गरगहना विभिन्न किसिमका रासायनिक पदार्थहरु प्रयोग गरी तौल घटाएर ठगी गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । उनीहरुको साथबाट सुनचाँदी लगायतका धातु गाल्न प्रयोग हुने रासायनिक पदार्थ तथा उक्त कार्य गर्नका लागि प्रयोग गर्ने सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका आरोपितविरुद्ध बुधबार ठडीसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिएर थप अनुसन्धन भइरहेको पनि उनले बताए ।
