बागलुङ — ऐतिहासिक गलकोट राज्यको नामबाट चिनिएको कोतघरलाई सिंगारिएको छ । ऐतिहासिक दस्तावेजको संरक्षण गर्ने, पर्यटक भित्र्याउने र सांस्कृतिक महत्त्वलाई निरन्तरता दिने गरी कोतघर संरक्षण गरिएको हो ।
जीर्ण कोतघर दुई वर्षअघि हावाहुरीले भत्काएको थियो । नेपाली सेनाको श्रीमेहर गण र नगरपालिकाले संरक्षण गरेर यहाँ पर्यटकीय महत्त्वका अन्य संरचना पनि बनाइएको हो । चैतेदसैं र बडादसैंमा विशेष पूजा र मेला लाग्ने यो कोतघर पुग्दा चौबिसे राज्यको झल्को आउँछ ।
गलकोट नगरको अधिकांश क्षेत्र देखिने कोतघर नजिकै कालीका मन्दिरसमेत मर्मत गरिएको छ । यहाँ अजंगका दुई खुँडा र दुई खुकुरी छन् । नगरपालिकाले कोतघर पुग्ने सिँढी पनि बनाएको छ । रेलिङसहितको मार्ग आर्कषक देखिन्छ ।
यो अभियानमा केही वर्ष अघिदेखि स्थानीय युवालेसमेत चासो दिएका थिए । वडा कार्यालयले त यो कोतघर संरक्षणलाई आफ्नो गौरवको योजनामा समावेश गरेको थियो । नगरपालिकाले पनि कोतघर नगरको अस्तित्वसँग जोडिएकोले लगानी गरेर मर्मत गरेको हो ।
मध्यपहाडी लोकमार्गदेखि ६ किलोमिटर सडक पार गरेर कोतघर पुग्न सकिन्छ । कोतघर पुग्ने सडक स्तरीय बनाउने काम सुरु भएको छ । सहरी विकास आयोजनामार्फत यहाँको एक किमी सडक कालोपत्रे गर्ने योजनासमेत छ । चालु वर्षभित्रै उक्त सडक कालोपत्रे हुने बागेश्वरी निर्माण सेवाका साइट इनचार्ज सन्तोष तामाङले बताए ।
बाँकी खण्ड व्यवस्थित बनाउन पनि नगर र अन्य निकायको समन्वय भैरहेको वडा अध्यक्ष फमबहादुर खत्रीले बताए ।
यसअघि गण्डकी प्रदेश सरकार र नगरको साझेदारीमा ५० लाख खर्चेर सडक मर्मत भइसकेको थियो । नगरपालिकाको २० लाख, सेनाको श्रमदान र अन्य लगानी समेत गरी १५ लाख बराबरको लगानीमा कोतघरको संरक्षण भएको छ । त्यसबाहेक सिँढी निर्माणमा नगरको १० लाख रुपैयाँ खर्च भइसकेको हो ।
गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट १० लाख रुपैयाँले सिँढी र अन्य संरचना निर्माणमा खर्च गरिएको थियो । ‘सडकको केही खण्डमा नाली र कल्भर्टसमेत निर्माण भइसकेको छ, आगामी वर्षसम्म सबै सडक स्तरीय बनिसक्छ’ उनले भने, ‘पर्यटनको दृष्टीले पनि यो स्थान महत्त्वपूर्ण छ ।’ कोतघरबाट गलकोट उपत्यका, घुम्टेको पहाड, दरमखोला र ताराखोला गाउँपालिकाको केही खण्ड समेत देखिन्छ ।
सेनाले नै कोतघरलाई रंगरोगन गरिदिएको थियो । हाल यहाँ फूलबारी समेत बनाइएको छ । गलकोटे राजाले प्रयोग गरेका तीनसय वर्ष पुराना हतियार समेत यहाँ सुरक्षित छन् । ‘यी सबै सामान पुरातात्विक हुन्, त्यसैले संरक्षणको योजना बनाइएको हो’ वडा नं ३ का अध्यक्ष फमबहादुर खत्रीले भने, ‘चैते दसैंमा लाग्ने मेलाले यो स्थानको महत्त्व दर्शाउँछ ।’ चैते दसैंका लागि कोतघर रंगरोगन पनि गरिएको छ ।
गलकोटका पहिलो राजा जितेन्द्रदेव मल्लले यो कोतघर बनाएको इतिहास छ । नेपाल एकीकरण पूर्व विसं १८४४ सम्म यो राज्य स्वतन्त्र थियो । २०१७ सम्म गलकोट रजौटाको रुपमा चिनियो । २०१९ सम्म सदरमुकामको रुपमा गलकोटमा प्रशासनिक इकाईको रुपमा थियो । प्राचीन समयदेखि नेपाल एकीकरण पूर्व (वि.स.१८४४) को अवधिसम्म यो एउटा स्वतन्त्र राज्यका नामले परिचित थियो ।
वि.सं. २०१७ सम्म पनि यो एउटा रजौटाअन्तर्गतको राज्य नै रह्यो । २०१९ सालसम्म पनि बागलुङ जिल्लाका मुख्य प्रशासनिक इकाईहरु गलकोटमै रहेका थिए । पछि त्यहाँका प्रशासनिक इकाईहरु बागलुङ बजारमा सारियो । उक्त विरासत झल्काउन कोतघर संरक्षण र पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याएको पूर्व वडा अध्यक्ष वीरजंग भण्डारीले बताए ।
बडा दसैं र चैते दसैंमा सयौं भक्तजन पूजा गर्न पुग्छन् । नित्य पूजा भने स्थानीयले गर्छन् । कोटमैदान गाउँका ५० घरले अपनत्व लिएर संरक्षण र पूजा गर्ने काम गरिरहेका छन् । यहाँ दुरवीन राखेर सबैतिर हेर्ने व्यवस्था गरिएको छ । शिलालेख राखेर आउने पर्यटकले पढ्ने र गलकोटको इतिहास थाहा पाउने व्यवस्थाका लागि पनि तयारी भएको हो ।
‘गलकोट राज्यको कोत रहेको स्थान गोलोघर थियो । त्यसैले गोलोकोत भन्ने शब्द अपभ्रम्स भएर गोलकोत र गलकोट भएको ऐतिहासिक दस्जावेजमा उल्लेख छ’ धौलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा. दिनबहादुर थापा बताउँछन् ।
