सांसद र मन्त्री बन्दाको पारिश्रमिक र भत्ता समाजसेवामा : ७ वर्षमा ७९ लाख रुपैयाँ खर्च

चैत्र १९, २०८१

अनुप पौडेल

Salaries and allowances of parliamentarians and ministers in social service: 79 lakh rupees spent in 7 years

कास्की — गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पारिश्रमिक र अन्य सुविधाबापत प्राप्तसहित १० लाख रुपैयाँ सामाजिक कार्यमा खर्च गरेका छन्

मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्री थापाले २०८० फागुनदेखि गत माघ मसान्तसम्म पारिश्रमिक, बैठक भत्तासहित अन्य सुविधाबापत प्राप्त ९ लाख ९० हजार ९४ रुपैयाँ सामाजिक कार्यमा खर्च भएको सार्वजनिक गरे । यसबाहेक व्यक्तिगतसहित गरेर यस अवधिमा १० लाख १ हजार ३ सय २४ रुपैयाँ खर्च गरेको उनले बताए । 

बिरामी व्यक्ति, आफ्नो निर्वाचन क्षेत्रका संस्था, खेल प्रतियोगिता, खानेपानी पाइप र ट्यांकी खरिद, मन्दिर, अक्षयकोष स्थापना, खेल मैदान मर्मतलगायत काममा उक्त रकम खर्च भएको मन्त्री थापाले सुनाए । सार्वजनिक विवरणअनुसार उनले १४ हजारदेखि १ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । यो रकम मन्त्री थापाले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेका छन् । 

०७४ सालमा सांसद भएदेखि नै उनले पारिश्रमिक, बैठक भत्तासहित प्राप्त सुविधा सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।

सांसद र मन्त्री भएपछि ७ वर्षमा ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको मन्त्री थापाले बताए ।  कांग्रेस नेता थापा ०७४ र ०७९ मा कास्की २ (२)बाट निर्वाचित सांसद् हुन् । उनी पहिलो कार्यकालमा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बनेका थिए । 

अनुप पौडेल

Link copied successfully