व्यवस्थित सहर र चुस्त शासकीय क्षमता बनाउने पहल
बागलुङ — सहरलाई व्यवस्थित बनाउने, पूर्वाधारमा अब्बल र सहरी शासकीय क्षमता विकास गर्न गल्कोट नगरपालिकामा ‘सघन सहरी विकास आयोजना’ सञ्चालनमा ल्याइएको छ ।
यो आयोजनाअन्तर्गत नगरको विकासलाई व्यवस्थित बनाउने, विकासले प्रभाव पारेका स्थानीयलाई आयआर्जनमा जोड्ने, नगरको आफ्नै शासकीय क्षमता बढाएर चुस्त बनाउने लक्ष्य राखिएको हो । सघन सहरी तथा भवन डिभिजन आयोजनाको साझेदारीमा नगरपालिकाले ती काम थालेको हो ।
पहिलो चरणमा आयोजनाअन्तर्गत वडा १ र २ जोड्ने सडकलाई व्यवस्थित र चौडा बनाएको छ । चालु वर्षभित्रै त्यस सडकलाई कालोपत्र गर्ने लक्ष्य पनि छ । त्यसबाहेक कोतघर जाने सडक कालोपत्र गर्ने, सहरी शासकीय क्षमता विकासका लागि वडा नम्बरको ३ को भवन निर्माण र आयआर्जनका कार्यक्रमअन्तर्गत किसानका फर्म विस्तार, बजारीकरण र उत्पादन क्षमता बढाउन पहल गर्ने प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले बताए ।
पूर्वाधारतर्फका धेरै काम चालु वर्षभित्रै सक्ने लक्ष्य बनाएको बागेश्वरी निर्माण कम्पनीका प्रतिनिधि सन्तोष तामाङले बताए । भवनको काम २०८२ फागुनसम्म तोकिएको छ । वडा नम्बर-२ नरेठाँटीदेखि वडा नम्बर-१ को दुदिलाभाटी जोड्ने सडक बन्दा किसानको कृषि फसलले सहजै बजार पाउने जनप्रतिनिधिले बताए । ‘अप्ठ्यारो सडकले तरकारी ढुवानीमा पनि समस्या थियो, अब सहज हुने आस गरेका छौं,’ गलकोट नगरपालिका २ का अध्यक्ष हिमबहादुर भण्डारीले भने, ‘यो सडक स्तरीय बन्दा छिमेकी बरेङ गाउँपालिका पुग्न पनि सहज हुनेछ ।’
यो सडक बनिसक्दा वडा नम्बर-१ को दुदिलाभाटी, भण्डारवनलगायतका बासिन्दाले सहजै मुकाम आउन पाउनेछन् । यो क्षेत्रमा बाख्रापालन, तरकारी खेती, दूध उत्पादन गर्ने किसान पनि सडक बनेपछि खुसी छन् । ‘हामीले सजिलै बजारमा तरकारी पठाउन पाउने भयौं,’ स्थानीय लालबहादुर खत्रीले भने, ‘आवश्यकताका आधारमा काम गर्दा प्रतिफल राम्रो पाइन्छ ।’ कोतघर जाने सडकले पनि पर्यटक भित्र्याउन सहज भएको स्थानीय झहरसिंह खत्रीले जानकारी दिए ।
गल्कोटलाई सहरी क्षेत्रका रूपमा विकास गर्दै व्यवस्थित सडक, ढल निकास, शासकीय क्षमता विकास गर्ने लक्ष्यले यो काम सुरु भएको आयोजनाका प्रमुख कृष्णकुमार मर्हजनले बताए । ‘यो एउटा नमुना आयोजना हो, यसको सफलतापछि अन्य काममा पनि साथ दिन्छौं,’ महर्जनले भने, ‘विज्ञ कार्यालय भएकोले पालिका तहको विकासमा साथ दिएका हौं ।’ गल्कोटमा भवन निर्माण संहिता पालना गराउने, सडक मापदण्डलाई कायम गरेर भवन निर्माणको नक्सापास गराउन पहल गर्नेलगायतको काममा आयोजनाले साथ दिने उनले बताए ।
गल्कोट नगरपालिकामा पछिल्लो समय बस्ती विकासको लहर तीव्र रूपमा सञ्चालित छ । त्यसबाहेक यहाँबाटै मध्यपहाडी लोकमार्ग, हटियादेखि ताराखोला हुँदै म्याग्दी जाने रणनीतिक सडक, डाँडाखेत देखि सुखौरा हुँदै गुल्मीको शान्तिपुर जाने सडक निर्माणाधीन छन् । ती विकासलाई पनि व्यवस्थित बनाउन नगरपालिकाले विज्ञ कार्यालयको साथ खोजेको नगरप्रमुख भरत शर्मा गैरेले बताए । य
हाँको खेतीयोग्य जमिन भवन बनेर सकिन लागेको भन्दै बेलैमा व्यवस्थापन गरेर योजनाबद्ध विकास गर्ने काम थाल्न स्थानीय र विज्ञले सुझाव पनि दिएका छन् । त्यसका लागि पनि भूउपयोग नीति बनाएर अगाडि बढेको गैरेले जानकारी दिए । पुरानो नक्साले व्यक्तिका घर तथा जग्गामा समस्या आएपछि नगरपालिकाले संघीय तहबाटै पुन: नापीको मागसमेत गरेको छ । उक्त कार्यपछि व्यवस्थित सहरी विकासको नयाँ खाका बनाउने गैरेले जानकारी दिए ।
