४० टन आलुको पहाड बनाइने
कास्की — पोखरामा चैत २४ देखि वैशाख ३ सम्म राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ : आलु एक परिकार अनेक’ भन्ने मूल नाराका पोखरा महानगरपालिका–२५ स्थित विष्णुपादुका क्लबको आयोजनामा १३ औं संस्करणको महोत्सव हुन लागेको हो ।
महोत्सवमा आलु र अन्य तरकारीको खरिदबिक्री, आलुका परिकार बिक्री, माटो तथा बोटविरुवा परीक्षण, कृषि यन्त्र प्रदर्शनी तथा रोगको निदानबारे जानकारी गराइने क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कृषक तथा कृषिसम्बन्धी सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारको प्रस्तुति, कृषक सम्मानको कार्यक्रम पनि राखिएको उनले बताए ।
महोत्सवमा बिक्री हुने आलुको मूल्य प्रतिकेजी अधिकतम ४२ रूपैयाँ निर्धारण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । बजारमा हाल आलुको मूल्य ५५ रूपैयाँसम्म छ । विगत वर्षजस्तै यो वर्ष पनि आलुको पहाड बनाउने तयारी आयोजकले गरेको छ । त्यो पहाडमा करिब ४० टन आलु हुनेछ ।
२०७८ को जनगणनाअनुसार हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ९० हेक्टरमा आलु खेती हुन्छ । यहाँका २ हजार घरपरिवार कृषिमा आधारित छन् भने १ हजार ५० कृषकले व्यावसायिक आलु खेती गरेका छन् ।
