कास्की — गण्डकी प्रदेशसभामा विपक्षी दल नेकपा (माओवादी केन्द्र)संसदीय दलका नेताको सम्बोधनलाई लिएर विवाद भएको छ । सोमबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा माओवादी दल नेता हरिबहादुर चुमानले कांग्रेसभित्रका कैयौं नेतामा ०४७ सालकै संविधानप्रति मोह देखिएको बताएका थिए ।
‘सत्ताधारी दलभित्रकै कैयौं नेतामा धर्मनिरपेक्षता विरोधी मत र ०४७ सालकै संविधानप्रतिकै मोह छर्लङ्ग देखिन्छ । एउटा कार्यक्रममा एक जना कांग्रेस नेतालाई कांग्रेसकै एक जना कार्यकर्ताले के छ हालखबर ? जय हिन्द त होला भनेको मैले सुनेको छु,’ उनले भनेका थिए ।
नेता चुमानको अभिव्यक्तिलाई लिएर कांग्रेस–माओवादीबीच नोकझोक चल्यो । चुमानको भनाइमा कांग्रेस सांसद डिल्लीराम सुवेदीले नियमापत्ति जनाए । उनले माओवादी दल नेताले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन माग गरे । आम जनतामा वितृष्णा र नकारात्मक सन्देश जान सक्ने शब्द प्रयोग गरिएको भन्दै उनले रेकर्डबाट हटाउन माग गरेका हुन् ।
‘अपुष्ट सन्दर्भमा कसैले केही भनेको रे भन्ने विषयलाई लिएर मुलुकको सार्वभौमिकता, अखण्डता, जनताको सार्वभौमिकतासँग सम्बन्धित रहेको अत्यन्त संवेदनशील विषयमा ७० वर्षको लामो इतिहासमा सबै ढंगले परीक्षण भएको पार्टीलाई आँच आउने, आम जनतामा वितृष्णा र नकारात्मक सन्देश जान सक्ने शब्द प्रयोग गर्नुभएको छ । त्यसकारण त्यो शब्द रेकर्डबाट हटाउन म माग गर्न चाहन्छु,’ सांसद सुवेदीले भने ।
सांसद सुवेदी बोलेपछि माओवादी प्रमुख सचेतक कुसुम बुढा उठिन् । सभामुख कृष्णप्रसाद धितालले नियमापत्ति तत्काल गर्ने सहमति कार्यव्यवस्थामा जुटेको सुनाए । उनले सांसद सुवेदी र प्रमुख सचेतक बुढालाई बस्न आग्रह गरे । बुढाले बोल्न समय मागिन् । उनले गण्डकी प्रदेश सभा नियमावलीको नियम २० (घ)अनुसार बोलेको भए तत्काल नियमापत्ति गर्नुपर्नेमा त्यस्तो नभएको बताइन् । ‘नियम २० को (घ)अनुसार बोलेको लागेमा त्यतिबेलै नियमापत्ति गर्ने हाम्रो नियमावलीमा भएको व्यवस्था छ । यो व्यवस्थाभन्दा बाहिर गएर बोलेको अनुभूति गरेको छु,’ उनले भनिन्, ‘हामीले बनाएको नियमावली हामीले पालना नगर्ने हो भने यसमा प्रश्नको गम्भीरता उठ्छ कि उठ्दैन ?’
सोमबारको बैठकमा माओवादी दल नेता चुमान बोलेपछि सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले संसदमा उठेका प्रश्नको जवाफ दिएका थिए । कांग्रेस सांसद सुवेदीले त्यसपछि मात्र दल नेता चुमानको अभिव्यक्तिमा नियमापत्ति गरेका थिए । यसमा माओवादीले तत्काल नियमापत्ति गरिनुपर्नेमा नभएको बतायो । प्रदेश सभा नियमावलीमा नियमापत्ति बोल्दा–बोल्दै, बोलिसकेपछि वा संसद् जारी रहँदासम्म गर्न पाइने भन्ने स्पष्ट व्यवस्था छैन ।
माओवादी प्रमुख सचेतकको प्रश्नपछि कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने उठे । सभामुखसँग समय लिएर उनले आफ्नो दलका सांसद सुवेदीले नियम २० (घ)लाई टेकेर नियम २५ अनुसार नियमापत्ति गरेको भन्दै बचाउ गरे । सांसद सुवेदीले कुन नियमअनुसार नियमापत्ति हो भन्ने खुलाएका थिएनन् । प्रमुख सचेतक न्यौपानेले त्यसबारे प्रस्ट पार्दै सांसद सुवेदीको बचाउ गरेका हुन् । ‘नियम २० (घ)लाई टेकेर उहाँले नेपाली कांग्रेस जसले नेपालको स्वाधीनताका लागि लड्यो त्यो पार्टी जो जय हिन्दु शब्द प्रयोग भयो त्यो संसद्को रेकर्डबाट हटाउनपर्छ भनेर नियमापत्ति गर्नुभएको हो,’ न्यौपानेले भने ।
नियमावलीको नियम २० (घ)मा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकता प्रतिकूल हुने गरी बोल्न नहुने व्यवस्था छ । नियम (२०)को कुन व्यवस्थामा नियमापत्ति हो भन्ने खुलाएर नियम २५ अनुसार नियमापत्ति गर्न सकिने व्यवस्था नियमावलीले गरेको छ ।
कांग्रेस र माओवादीका सांसदको कुरा सुनेपछि सभामुख धितालले कार्यव्यवस्था परामर्श समितिमा यस विषयमा छलफल गरिने बताए । सभामुखले यति भनेपछि संसद् बैठक कार्यसूचीअनुसार अघि बढ्यो ।
