गोरखा — मध्यपहाडी लोकमार्गको सडक क्षेत्राधिकारमा पर्ने १९ वटा घर भत्काइएको छ । मसानेठाँटी–ठाँटीपोखरी खण्ड अन्तर्गतको लुइटेलभञ्ज्याङ, बाह्रपिर्केलगायतका क्षेत्रमा सडकसँगै जोडिएका घर भत्काएर स्तरोन्नतिको काम थालिएको हो। सडक निर्माणका लागि घरधनीहरूले आफ्ना घर भत्काएका हुन्।
पालुङटार नगरपालिका–४ लुइटेल भञ्ज्याङका १०, बाह्रपिर्केका ६, वडा नं. २ पुतलीखेतका २ र वडा नं. १ धुरपुलेखारको १ घर भत्काइएको मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका इन्जिनियर गोविन्द श्रेष्ठले बताए । निकै पुरानो लुइटेल भञ्ज्याङमा मात्र १० घर सडकको क्षेत्राधिकार भित्र परेका थिए।
लुइटेलमा ढुंगामाटोले बनेको परम्परागत घरहरू बजार क्षेत्रको बीचमा सडक परेपछि भत्काएर सडक स्तरोन्नति थालिएको हो । ‘लुइटेल भञ्ज्याङको बजार निकै पुरानो हो, यही बाटो हिँडेर काठमाडौं–पोखरा आउजाउ हुन्थ्यो,’ स्थानीय उमा श्रेष्ठले भनिन्, ‘२०५२ सालमा सडक आयो, त्यसपछि पैदल हिड्न छाडे, अहिले सडक फराकिलो बनाउन भनेर घर भत्काउन भनेपछि हामी आफैँले भत्काएका हौं।’
घर भत्काउँदा क्षतिपूर्ति भने नपाएको उनले गुनासो गरिन्। ‘बाटो फराकिलो बनाउन वर्षौदेखि बस्दै आएको घर भत्काउन पनि तयार भयौं,’ उनले भनिन्, ‘धेरै दिन भइसक्यो घर भत्काएको, भत्किएको ठाउँको माटोढुंगा त्यसै छ, अहिलेसम्म फाल्न कोही आएनन्, घर पनि भत्काउने बाटो पनि पिच नहुने हो कि, पिर पो लाग्न थालेको छ ।’
किराना पसल संचालन गर्दै आएकी श्रेष्ठ वर्षौ पहिले बनेको दुई तले घर भत्काएर छिमेकीको घरमा सरेकी छन् । ‘भत्किसकेपछि यो माटो तह लगाइदिएको भए आफ्नो सुर हुन्थ्यो, पछाडी थोरै भाग बचेको पनि छ, त्यहाँ टहरो हाल्न हुन्थ्यो,’ उनले भनिन् ।
आफ्नो घर आफैँले भत्काउन पर्दा भने निकै नमज्जा लागेको उनले सुनाइन् । उनले पुरानो घरको काठपात झिकेर सुरक्षित तवरले राखेकी छन् । सडकको दायाबाया ६/६ मिटरभित्र पर्ने घर भत्काएर स्तरोन्नतिको काम भएको मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका इन्जिनियर श्रेष्ठ बताउँछन् ।
भूकम्पको राहत रकमबाट बनेको घरको हकमा जिल्ला प्रशासन कार्यालयबाट निर्णय गराएर भत्काउँदा लाग्ने खर्च उपलब्ध गराउने निर्णय भएको उनले बताए । ‘कच्ची घरको २० हजार, ढुंगामाटोले बनेको छ भने ३० हजार र ढुंगामाटोसहित केही प्लास्टरको काम पनि भएको छ भने ४५ हजार रुपैया प्रतिधनीलाई भत्काउँदाको खर्च दिने निर्णय गरेका छौं,’ उनले भने ।
उक्त रकम उपलब्ध गराउन प्रक्रिया चलिरहेको पनि उनले बताए । भूकम्पको राहत नपाएका पाँच घरको हकमा भने निर्णय हुन बाँकी नै रहेको श्रेष्ठले जानकारी दिए ।
मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखामा पर्ने ६२ किलोमिटरमध्ये दुइ खण्डको काम ठेकेदारको ढिलासुस्तीले कालोपत्रे हुन सकेको छैन । यही चैतसम्म म्याद रहेको मसाने ठाटी–पालुङटार खण्डको हाल ५४ प्रतिशत वित्तीय र ५६ प्रतिशत भौतिक प्रगति रहेको श्रेष्ठले बताए । उक्त खण्डको करिव १६ किलोमिटर कालोपत्रेको जिम्मा हिमजुङ प्यासिफिक जेभीले पाएको छ ।
पछिल्लो समय कामले तीव्रता पाएको श्रेष्ठले बताए । ‘यो खण्डमा यो वर्ष कम्तीमा १० किलोमिटर सडक कालोपत्र हुन्छ,’ उनले भने । कालोपत्रका लागि स्ट्रक्चर र नालाको काम भइरहेको छ । सववेस राख्ने काम पनि जारी रहेकाले अर्को साताबाट कालोपत्र सुरु हुने उनले बताए ।
ओख्लेदेखि निवेलसम्मको १६ किलोमिटर कालोपत्रका लागि ठेकेदार कम्पनी एमपी एससिएफ इसीसी जेभिले २०७२ माघ १० गते ठेक्का सम्झौता गरेको थियो । ९ वर्षको अवधिमा ठेकेदारको म्याद छैटौ पटक थप भइसकेको छ ।
अन्तिम पटक थपिएको म्याद पनि गत पौष ५ गते सकिएको छ । उक्त खण्डको प्रगति ८९ प्रतिशत रहेको श्रेष्ठले बताए । उक्त खण्डमा अहिले कामले तिव्रता पाएको उनले बताए । ‘८ किलोमिटर अघिल्लो वर्ष कालोपत्र भएको छ, यो वर्ष सक्ने लक्ष्य छ, नभए पनि थप चार/५ किलोमिटर कालोपत्र हुन्छ, काम पनि हुँदैछ,’ उनले भने । मध्यपहाडी सडक सात मिटर फराकिलो बन्ने छ ।
‘सोल्जर’ डेड मिटर र नाला पनि निर्माण उनले बताए । ‘दुवै खण्डको ठेक्काको अवधि सकिएपनि काम पनि भइरहेको छ, म्याद थपको प्रत्रिया पनि चलिरहेको छ,’ उनले भने । मध्यपहाडी अन्तरगतको गोरखामा पर्ने वााकी तिन खण्डको काम भने सकिएको छ । मध्यपहाडीको गोरखा क्षेत्रमा पर्ने ६२ किलोमिटर मध्ये २४ किलोमिटर सडक कालोपत्रको काम भइरहेको कार्यालये जनाएको छ । यो वर्ष १८ किलोमिटर कालोपत्र सक्ने लक्ष्य राखिएको छ ।
