विद्यार्थीले गेटमै रोक्ने सूचना पाएपछि राप्रपा सांसद सरकारी गाडी नलिई गए, विद्यार्थीले उनीहरू भित्र छिरेको पत्तै पाएनन्
कास्की — राजावादीले काठमाडौंमा गरेको तोडफोड, लुटपाटविरुद्ध र गणतन्त्रको पक्षमा पोखरामा प्रदर्शन गरिएको छ । पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस, कालिका बहुमुखी क्याम्पसका विद्यार्थीले नदीपुरस्थित प्रदेश सभा गेटमा आइतबार बिहान प्रदर्शन गरेका हुन् ।
सहभागीले प्रदेशसभा गेटमा ‘प्रतिगामी शक्ति होसियार’, ‘प्रतिगामी तत्व प्रवेश निषेध’, ‘समृद्ध गणतन्त्र नेपाल जिन्दावाद’, ‘संविधान हाम्रो गौरव हो, गणतन्त्र हाम्रो पहिचान हो’ लेखिएको प्लेकार्ड बोकेका थिए । ‘मण्डलेहरू होसियार’, ‘गणतन्त्र नेपाल जिन्दावाद’, ‘संविधान हाम्रो गौरव हो’ भनेर नाराबाजी पनि गरे ।
प्रदेशसभा गेटमा गरिएको प्रदर्शन राप्रपा लक्षित थियो । सरकारी गाडी चढ्ने, त्यही गाडी चढेर गणतन्त्रको विरोध गरेको भन्दै विद्यार्थीले राप्रपा दल नेता पञ्चराम गुरुङ र प्रमुख सचेतक विन्दु पौडेललाई गेटमै रोक्ने योजना बनाएका थिए । प्रदर्शनमा सहभागी विद्यार्थीले दुवै सांसदको गाडी नम्बर टिपेर राखेका थिए ।
आफूलाई गेटमा रोकिने सूचना पाएपछि दल नेता गुरुङ संसद् सचिवालयले उपलब्ध गराएको सरकारी गाडी नलिई प्रदेशसभा पसे । उनी निजी गाडीमा संसद् पुगेका थिए । सांसद पौडेल भने बिरामी रहेकाले पछिल्ला प्रदेश सभा बैठकमा सहभागी छैनन् ।
पृथ्वीनारायण क्याम्पसका विद्यार्थी प्रचण्डशक्ति गुरुङले राजवादीका गतिविधिलाई विद्यार्थीको समर्थन नरहेको देखाउन प्रदर्शन गरिएको बताए । ‘तोडफोड, आगजनी, लुटपाट ठिक भएन भनेर हामी साथी–साथी मिलेर प्रदर्शन गरेका हौं । यसमा कुनै संगठनको दबाब र अपनत्व छैन,’ उनले भने ।
