बागलुङ — बागलुङ उद्योग वाणिज्य संघको १९ औं अधिवेशनबाट राजनकुमार शाक्य अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा शाक्यले ६ सय ४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उमाकान्त शर्मा ‘बाबु’ले ५ सय १९ मत पाए ।
सदस्यमा भने दुवैतर्फका उम्मेदवार विजयी भएका छन् । उद्योग सदस्यतर्फ रामप्रसाद शर्मा र चुडामणी सापकोटा विजयी भए । महिला सदस्यमा सबिता आचार्य, कमला पराजुली र सृजना राजभण्डारी विजयी भए ।
खुला सदस्यमा ऋषिराम गौतम, अकिलबहादुर केसी, अर्जुनप्रसाद कँडेल, इन्द्रमणि पौडेल, उमेश केसी, दीपक हमाल, चन्द्रराज रेग्मी, नवीनकुमार श्रेष्ठ, बद्री ढुंगाना, मनिष राजभण्डारी, राजु गौतम, श्रीजय श्रेष्ठ र सुदिपसागर कँडेल विजयी भए । दुवै अध्यक्षका उम्मेदवार कांग्रेस निकट छन् ।
निर्वाचित भएपछि शाक्यले उद्योग वाणिज्य संघलाई व्यवसायिक बनाउने बताए । ‘हामीले संघमा राजनीति गर्ने होइन, व्यवसाय बढाउने, पर्यटन प्रवर्धन गर्ने र व्यवसायिक शिक्षा दिने हो,’ शाक्यले भने, ‘राज्यका निकायले काम गर्ने वातावरण बनाइदिनुपर्छ।’ २०२० सालमा स्थापना भएको बागलुङ उद्योग वाणिज्य संघले गत वर्षदेखि हिरक महोत्सव समेत सञ्चालन गर्दै आएको छ ।
शुक्रवार नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले हिरक महोत्सवको उद्घाटन गरेका थिए । उक्त अवसरमा ढकालले धौलागिरि क्षेत्रलाई पर्यटन र जलविद्युत्बाट समृद्ध बनाउन सकिने बताए । उनले पर्यटन प्रवर्धनका लागि लगानी बढाउन पनि व्यवसायीलाई आग्रह गरेका थिए ।
