नवलपुरका १० स्थानमा डढेलो, धुवाँका कारण आँखा पोल्ने समस्या

चैत्र १७, २०८१

नवीन पौडेल

Eye burning problem due to fire, smoke in 10 places of Nawalpur

नवलपुर — पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-१० को चक्ला वन क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएको छैन ।

करिब २ सय हेक्टरमा फैलिएको डढेलो नियन्त्रणको प्रयास भए पनि सुक्खा मौसम र हावा लागेको कारण नियन्त्रणमा आउन नसकेको हो ।

डढेलो फैलिन नदिन ‘फायर लाइन’ बनाएर डढेलो नियन्त्रणको प्रयास भइरहेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिशिर लम्सालले बताए ।

मध्यबिन्दु नगरपालिकाको मैनाघाट, खयरसाल सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पनि डढेलो लागेको छ ।स्थानीय, सामुदायिक वन उपभोक्ता र वन कार्यालयको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । जिल्लाका १० स्थानका वन क्षेत्रमा डढेलो लागेकामा ६ स्थानमा मात्र नियन्त्रणमा आएको छ ।

डढेलो लागेका कारण पूर्वी नवलपरासीको वायुमण्डल धुवाँले ढाकेको छ । धुवाँका कारण बाहिर हिँडडुल गर्दा आँखा पोल्ने समस्या छ ।

डढेलोका कारण सूक्ष्म कण र विषालु ग्यास उत्सर्जन हुने भएकाले श्वासप्रश्वास सम्बन्धी समस्या आउने मध्यबिन्दु प्रादेशिक अस्पताल नवलपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले बताए । यसबाट बच्न अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र अनिवार्य मास्क र चस्माको प्रयोग गर्न चिकित्सकको सुझाव छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully