मातृशिशु स्वास्थ्य सुरक्षाका लागि ‘महिलासँग उपमेयर कार्यक्रम’

चैत्र १६, २०८१

सम्झना रसाइली

”Vice Mayor Program with Women” for Maternal and Child Health Protection

तनहुँ — मातृशिशु स्वास्थ्य सुरक्षाका लागि जिल्लाको व्यास नगरपालिकाले ‘महिलासँग उपमेयर कार्यक्रम’लाई अगाडि बढाइएको छ । आमा र शिशुको स्वास्थ्य सुधारका लागि नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई पोषणभत्ता सुविधा उपलब्ध गराउन थालेको हो । 

गर्भवती भएका महिलाले स्वास्थ्य परीक्षण नगराउँदा र घरमै बच्चा जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले स्वास्थ्य परीक्षणलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘आमा र शिशुको स्वास्थ्य सुधार र गर्भवती महिलाले समय-समयमा स्वास्थ्य परीक्षण गराउनुपर्छ भन्ने सचेतना फैलाउनका लागि पनि महिलासंग उपमेयर कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।’

नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा परीक्षण तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिन थालिएको नगर उपप्रमुख इन्दिरा दरैले बताइन् । उनले भनिन्, ‘आमा र शिशु दुबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकताका राखेका छौं ।’

‘स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डको आधारमा गर्भवतीलाई भत्ता वितरण गर्न थालिएको छ’, उनले भनिन्, ‘घरमा सुत्केरी गराउँदा, पोषणको कमीले आमा र शिशुको स्वास्थ्यमा असर पर्ने भएकाले सचेतनाको लागि कार्यक्रम सञ्चालन गरेका हौं । गर्भवतीलाई समय–समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम दिइएको हो ।’

नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा प्रोटोकलअनुसार नियमित गर्भ जाँच गर्ने गर्भवतीलाई भत्ता वितरण गरिनेछ । नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) गर्भवती महिलालाई ८ महिनामा मातृ शिशुकार्डको आधारमा जनही ५ हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।

उक्त सुविधा लिन व्यास नगरपालिकामा स्थायी बसोबास र विवाह दर्ताको प्रमाणपत्र पेस गर्नुपर्छ । नगरपालिकाले गत आर्थिक वर्षमा २३० जना र चालु आर्थिक वर्षमा १६६ जना गरी हालसम्म ३९६ जना गर्भवती महिलालाई १९ लाख ८० हजार रुपैयाँ प्रोत्साहन रकम वितरण गरेको छ । नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने नीति लिएअनुसार पोषण भत्ता वितरण थालिएपछि स्वास्थ्य संस्थामा परीक्षण गराउन र सुत्केरी हुन आउनेको संख्या बढेको नगरपालिकाले जनाएको छ । 

यस्तै, नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला सदरमुकामस्थित दमौली अस्पतालमा सुत्केरी महिलाको शल्यक्रिया सेवालाई निरन्तर दिन गाइनोलोजिस्ट र एनेस्थेसिस्टलाई पारिश्रमिक उपलब्ध गराइएको छ । साथै, सुत्केरी महिलालाई अस्पताल लैजान र घरमा पुर्‍याउन निःशुल्क एम्बुलेन्स सुविधासमेत प्रदान गरिएको छ ।

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully