ओलीको 'प्रशंसा गरेको' भन्दै आलोचित सपुतले भने- 'म गीत गाउनै ठिक रहेछु'

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

Criticized for 'praising' Oli, Saput said - 'I am fine with singing'

कास्की — प्रधानमन्त्री केपी शर्मा ओलीको 'प्रशंसा गरेको' भन्दै सामाजिक सञ्जालमा आलोचित गायक एवं अभिनेता प्रकाश सपुतले 'आफू गीत गाउनै ठिक रहेको' प्रतिक्रिया दिएका छन् ।

पोखरामा शनिबार आयोजित नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं साधारणसभामा सपुतलाई अतिथिका रूपमा बोलाइएको थियो । कार्यक्रम सञ्चालकले उनलाई माइक थमाइन् । त्यसपछि सपुतले भने, ‘मलाई कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथिबारे धेरै बोल्न मन थियो । तर म बोल्न होइन गीत गाउन नै ठिक रहेछु ।’ यति भनेपछि उनले २ वटा गीत गाए । 

सपुतले आफू गीत गाउनै ठिक रहेको भनी दिएको प्रतिक्रियाको सम्बन्ध गत फागुन १९ को एउटा कार्यक्रमसँग जोडिन्छ । ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकापर्णमा सपुत वक्ता थिए । सपना देख्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेका लागि ओलीको जीवन प्रेरणादायी भएको सपुतले बताएका थिए । 

ओलीको प्रशंसा गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले सपुतको आलोचना गरेका थिए । उनको चैत २२ मा प्रदर्शन हुन लागेको चलचित्र ‘बसन्त’ बहिष्कार गर्नुपर्नेसम्मका प्रतिक्रिया कमेन्ट सामाजिक सञ्जालमा आएका थिए । आफ्नो चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा त्यसको प्रचारका लागि पोखरा आएका सपुतले आफू गीत गाउनै ठिक रहेको बताएका हुन् । 

कान्तिपुर

Link copied successfully