लोमान्थाङमा अस्पताल बन्यो, उपकरण र जनशक्तिको खाँचो

चैत्र १५, २०८१

रासस

Hospital built in Lomanthang, need of equipment and manpower

मुस्ताङ — उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । संघीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा साढे दुईतले आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरिएको हो।

उपल्लो मुस्ताङका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने गरी आर्थिक वर्ष २०७८/७९ मा पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि दुई वर्ष रहेको लोमान्थाङस्थित आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण चल्दै गर्दा कोरोना माहामारी र प्रतिकूल मौसमलगायतका कारण तोकिएको समय सम्पन्न हुन सकेको थिएन । ठेक्का सम्झौताअनुसार उक्त भवन आव २०८०/८१ जेठमा सकिनुपर्ने थियो।

लोमान्थाङ–५ लोमान्थाङ बजार नजिक २७ कोठे भवन निर्माण गरिएको हो । उक्त भवन सात करोड १९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जानकारी दिए। विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने उद्देश्यले शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्षलगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवास निर्माण गरिएको उनले जानकारी दिए। 

लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुविधा पु¥याउन भवन निर्माण गरिएको बताए। भवन बनेपनि सेवा सञ्चालन गर्न उपकरण र जनशक्ति अभाव भएको उनको भनाइ छ । 'सेवा सञ्चालन गर्न संघीय तथा प्रदेश सरकारको सहयोगको आवश्यकता छ,' उनले भने। 

रासस

Link copied successfully