बागलुङ — चालु वर्षको असोजदेखि फागुन मसान्तसम्म गलकोट नगर अस्पतालमा मात्रै ५६ जना सुत्केरी भएका छन् । १६ जनाको शल्यक्रिया गरिएको छ ।
दुई वर्षदेखि सञ्चालित अस्पतालले गत असोजबाट शल्यक्रिया सेवा थालेको थियो । पालिकाले दक्ष चिकित्सक, दक्ष प्रसूतिकर्मी सहितको उपकरण र पूर्वाधार व्यवस्थापन गराएपछि छोटो समयमा यो सफलता मिलेको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए । अस्पतालले वर्षमा ३० हजारभन्दा बढीलाई उपचार सेवा दिएको जनाएको छ ।
नगर पालिकाले पूर्वाधार निर्माणमा साथ दिएको थियो भने गण्डकी प्रदेश सरकारले सामग्री खरिद, उपकरण तथा तालिम लगायतमा सहयोग गरेको थियो । पूर्वाधार र सामग्री पुगेपछि परिवार स्वास्थ्य महाशाखाले गत भदौ १६ मा अस्पताललाई शल्यक्रिया सेवाको अनुमति दिएको थियो ।
अस्पताल भवन बने पनि सुत्केरी कक्ष बनाउने ठाउँ अभाव थियो । एक वर्षदेखि पुरानो प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा सुत्केरी वार्ड बनाइएको छ । यहाँ १५ बेडसम्म राख्न सकिन्छ । ‘अब हामीले नियमित अपरेसन सेवा दिन सक्ने भएका छौं,’ पौडेलले भने, ‘रगत संकलन केन्द्र नहुँदा अपरेशन सेवामा आएका बिरामीलाई रगत अभाव भएमा समस्या पर्छ ।’ अस्पतालमा भिडियो एक्सरे, अल्ट्रसाउन्ड, ल्याब, ओपीडी, सुत्केरी सेवासहित पोस्टमार्टम सेवासमेत सञ्चालनमा छ ।
त्यसबाहेक अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालनको पनि तयारी भएको छ त्यसका लागि आवश्यक कोठा व्यवस्थापन भइसकेको हो । अस्पतालभित्रै चिकित्सकको आवास राखेर चौबिसै घण्टा सेवा दिने तयारी छ ।
चालु वर्ष नगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा ४० लाख लागतमा चार कोठा थप गर्न लागिएको हो । यहाँ गलकोट र ताराखोला मात्र नभई बडिगाड र राजमार्गका अन्य बिरामीले पनि सेवा पाएका छन् । दैनिक १ सय ५० देखि १ सय ८० जनासम्म बिरामी यहाँ उपचार गर्न आउने गरेको अस्पतालको तथ्यांक छ ।
यहाँ पोष्टमार्टम सेवासमेत सुरु भएपछि सदरमुकाम जाने झन्झट कम भएको स्थानीयले बताए । नगरप्रमुख भरत शर्मा गैरेले नीति र कार्यक्रममा समेत जनताको स्वास्थ्य नै पहिलो प्राथमिकता भन्ने नारा बनाएका थिए । नगरपालिकाले स्वास्थ्यमा धेरै लगानी समेत गरेको छ । ‘नगरभित्रै अपरेसन सहितको सेवा दिने चाहना थियो, बल्ल पूरा भएको छ,’ नगरप्रमुख गैरेले भने, ‘यो सेवालाई निरन्तरता दिनका लागि नगरपालिकाले निरन्तर लगानी बढाउने लक्ष्य राखेको छ ।’
अस्पताल व्यवस्थित बन्दा आम नागरिकको करोडौं खर्च बच्ने उनले बताए । उपप्रमुख फमलाल निउरे, वडा नं ५ का अध्यक्ष पवन हमाल र सामाजिक विकास समितिका संयोजक हेमन्त भण्डारीले पनि नगर अस्पताललाई सबै सेवा उपलब्ध गराउने बनाउन केन्द्रदेखि प्रदेशसम्मका सबै संयन्त्रमा समन्वय गरेका थिए । यो अभियानपछि पश्चिम बागलुङका तीन पालिकालाई यो अस्पतालले राहत मिलेको छ ।
त्यसबाहेक विभिन्न संस्थाले यहाँ एक्सरे मेसिन, एम्बुलेन्स, आँखा उपचार केन्द्र लगायतमा सहयोग गरेका छन् । गलकोट नगरपालिकाले स्वास्थ्य संस्थामै गएर नियमित गर्भ परीक्षण गर्नेलाई प्रोत्साहन भत्ता दिन थालेको छ ।
नियमित गर्भ परीक्षण गरेर स्वास्थ्य संस्थामै सुत्केरी भएमा नगरपालिकाले एकमुष्ठ ४ हजार ६ सय र संघीय सरकारले २ हजार गरी एकमुष्ठ ६ हजार ६ सय रुपैयाँ दिने व्यवस्था छ । उक्त रकमले सुत्केरीले पोषण खान पाउने व्यवस्था भएको नगर स्वास्थ्य शाखाका प्रमुख सुशील पौडेलले बताए ।
