पोखराबाट अमेरिकी महिला अपहरण, एक जना पक्राउ

चैत्र १३, २०८१

अनुप पौडेल

American woman kidnapped from Pokhara, one arrested

कास्की — नेपाल घुम्न आएकी एक जना अमेरिकी पर्यटक पोखराबाट अपहरणमा परेकी छन् । मुक्तिनाथ मन्दिर भ्रमणमा आएकी ७० वर्षीया महिला गत आइतबार अपहरणमा परेकी हुन् । घटनामा संलग्न भएको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका–३ बस्ने ३७ वर्षीय सरिता लामा पक्राउ परेकी छन् । 

पोखराको लेकसाइडस्थित होटलमा बसेकी ती महिलालाई लामाले हेटौंडा पुर्‍याएकी थिइन् । ती महिलासँग पुरानै चिनजान रहेकी लामाले बन्धक बनाएर ३ लाख यूरो फिरौती मागेकी थिइन् । यो जानकारी पीडितले नेपालस्थित अमेरिकी दूतावासलाई गराइन् । दूतावासले मंगलबार जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय कास्की, केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरले ती महिलाको खोजी थालेका थिए ।

खोजी गर्ने क्रममा अपहरणमा परेकी अमेरिकी महिलाको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए । लामाले आफ्नो घर जान प्रस्ताव गरेर पीडित महिलालाई हेटौंडा पुर्‍याएको प्रहरीको प्रारम्भिक सोधपुछमा खुलेको छ ।

घटनामा संलग्न महिलालाई कास्की जिल्ला अदालतबाट बुधबार ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए । उनीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान सुरू भएको छ ।

अनुप

Link copied successfully