पर्वत — चर्चित गायक तिलक बम मल्लले २०५५ सालमा गाएका थिए- ‘हिँउको पानी मोदीको असला... ।’ उनले गीत गाएको यही मोदी खोलामा हिजोआज माछा त परै जाओस् पानी पनि बग्दैन । उनकै गीतका कारण त्यतिबेला मोदी खोलाको माछा चर्चित भएको थियो ।
गायक मल्लले सम्झिए, ‘पोखराबाट बागलुङ जाँदा मोदीखोलाको माछा खान अम्बोट, वीरेठाँटी, नयाँपुलमा पस्थ्यौं । त्यहाँ मोदीको माछा खान भनेपछि बाहिरबाट आउने मान्छेहरुको भिड नै हुने गर्थ्यो ।’
कास्कीको अन्नपूर्ण हिमालदेखि बगेर पर्वत आइपुग्ने मोदीखोला यतिबेला भने काकाकुल छ । केही वर्षअघिसम्म सुक्खायाममा समेत कलकल बग्ने मोदीखोला किन सुक्यो त ?
यसको उत्तर हो, हाइड्रोपावर ।
मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरण अन्तर्गतको १४.८ मेगावाटको मोदीखोला जलविद्युत् केन्द्र, १५.८ मेगावाटको मध्यमोदी हाइड्रोपावर लिमिटेड र २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजना गरी चारवटा आयोजना छन् । जसमध्ये मोदी गाउँपालिकामा तीन र कुश्मा नगरपालिकामा एउटा आयोजना सञ्चालनमा छन् । नेपालको जलविद्युत् तथा जलस्रोत नीतिअनुसार आयोजनाले नदीमा कम्तीमा १० प्रतिशत प्राकृतिक बहाव निरन्तर छाड्नुपर्ने कानुनी प्रावधान छ । तर यसको व्यावहारिक कार्यान्वयन देखिन्न ।
मोदी खोलामा २०५७ मा पहिलोपटक सञ्चालित आयोजना मोदीखोला जलविद्युत् केन्द्र हो । यसको पानीको ड्याम जलाशय बेतेनीमा अवस्थित छ भने विद्युतगृह चाहिँ पातिचौरमा । मध्यमोदी हाइड्रोको पानीको ड्याम जलाशय वीरेठाँटी र विद्युतगृह बेतेनीमा छ । यस्तै, तल्लो मोदीखोला जलविद्युत् आयोजनाको ड्याम जलाशय पातिचौरमा र विद्युतगृह चाहिँ कुश्माको परादीमा अवस्थित छ ।
कुश्मा नगरपालिकाको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको ड्याम जलाशय परादीमा बाँधिएको छ । यसको जलविद्युत गृह भने चुवाको सुइटेबौरमा निर्माण गरिएको छ । 
मोदीखोला जलविद्युत केन्द्र । तस्बिर : सुमन जंग थापा
चारवटै जलविद्युत गृह लहरै अवस्था छन् । एउटा जलविद्युत् गृहको पानीको ड्याम जलाशयबाट छाडिएको पानी खोलामा बग्न नपाउँदै अर्को जलविद्युत् गृहको ड्याममा मिसिन पुग्छ । यसले गर्दा पनि मोदीखोलामा पानीको संकट उत्पन्न भएको छ ।
मोदी गाउँपालिकाले खडेरी सुरु हुनासाथ जलविद्युत् गृहका जिम्मेवार कर्मचारीलाई बोलाएर कानुनले निर्देशित गरेको पानी खोलामा छाड्न अनुरोध गरे पनि त्यसको कार्यान्वयन नभएको बताएको छ । मोदी गाउँपालिकाका सूचना अधिकारी प्रविन पोखरेल भने, ‘जलविद्युत् गृहले मोदीखोलामा पानी नछाड्दा तटीय क्षेत्रका बस्ती प्रभावित बन्ने खतरामा छ । हामीले कार्यपालिकाबाट बैठक नै गरेर धेरैपटक सम्बन्धित हाइड्रो सञ्चालकलाई पत्राचारदेखि अनुगमनसम्म गरेका छौं, मापदण्डअनुसार पानी छाड्न भनेका छौं तर उहाँहरुले कहिल्यै टेर्नुभएको छैन ।’
उनले पालिकाले बोलाएको बैठकमा सञ्चालकहरु आए पनि उनीहरुले पूरै मापदण्डअनुसार पानी छाडिरहेको तर्क गरेको बताए । भने, ‘उल्टै तपाईंहरुले नदेखेर होला, पानी त छाडेकै छौं भनेर सञ्चालकहरु एकै स्वर लगाउनुहुन्छ ।’
गाउँपालिकाले मोदी खोलाबाट उत्पादित हुने विद्युत्बाट गत आर्थिक वर्षमा १ करोड ३१ लाख ७६ हजार रुपैयाँ रोयल्टी बुझेको थियो । सोही वर्ष गाउँपालिकाभित्रका उपभोक्ताको मिटरमा जति युनिट महसुल उठेको भए पनि दामासाहीमा मासिक ३० युनिट मानेर गाउँपालिका आफैले रकम भुक्तानी गर्थ्यो । मोदी गाउँपालिकाका सूचना अधिकारी प्रविन पोखरेलले त्यसबापत २० लाख बराबर रकम खर्च आएको बताए । तर यस वर्षदेखि भने यो योजना हटाइएको छ ।
बिजुली उत्पादनका नाममा वातावरणलाई दीर्घकालीन असर पार्ने काम बन्द गर्न स्थानीयले माग गरेका छन् । पानी बग्नुपर्ने खोलामा हिजोआज कमिला हिँड्न थालेको भन्दै कम्पनीको स्वार्थका लागि प्रकृतिसँग नखेल्न चेतावनी दिएका छन् । ‘खोलाको पानीमा निर्भर सिँचाइ खेती प्रभावित भएको छ । खानेपानीको मुहानमा समस्या आउन थालेको छ,' तिलाहरका कृषक रमाकान्त क्षत्री भन्छन्, ‘यस क्षेत्रका माछा हराएर गइसके, चराचुरुंगी र वन्यजन्तुको बासस्थान समेत नष्ट भएको छ, प्रकृतिमाथिको दोहनका कुरा कसले सुन्ने ?’
खोला सुकाएको विषयमा जनस्तरबाट हरेक वर्ष गुनासो जिल्ला प्रशासन कार्यालमा पुग्ने गर्छ । जलविद्युत् गृहका कर्मचारीलाई बोलाएर छलफल गराउने पनि गरिन्छ । तर कार्यान्वयन हुँदैन । ‘गत वर्ष बोलाएर जुनै पनि हालतमा १० प्रतिशत पानी छाड्न भनेका हौं, त्यसरी खोलै सुकाएर पर्यावरणमा असर पार्ने काम गर्न त पाइएन नि,’ सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले भने, ‘गाउँपालिकाले हामीले नियमन गर्न सकेनौं भन्न पाइयो र ? हामीले प्रहरी खटाउनुपर्छ कि, के गर्नुपर्छ ? त्यो चाहिँ भन्नुपर्यो । अब छिट्टै हाइड्रोका कर्मचारीलाई बोलाएर छलफल गर्छौं ।’
नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको मोदीखोला जलविद्युत् केन्द्रका केन्द्र प्रमुख सुरेन्द्र कार्कीले आफूहरुको विद्युतगृह पुरानो भएकाले ड्यामबाट पानी नछाडे पनि लिकेज भएर खोलामा बग्ने गरेको बताए । ‘हाम्रो ड्यामदेखि जलविद्युत गृहसम्म पानी आइपुग्दा तीनचार ठाउँबाट लिकेज भएकाले त्यही पानी १० प्रतिशत नै नभए पनि हारहारीमा पुगेको छ,’ उनले भने, ‘पहिले पहिले बोराबालुवा राखेर लिकेज टाल्थ्यौं, तर गत वर्ष सीडीओ कार्यालयाट बोलाएर जानकारी लिने काम भएपछि यसपालि लिकेज बन्द नगरेर पानी खोलामा बग्न दियौं ।’
