कुलमान हटाइएकामा संसद्‌मा कालो चस्मा लगाएर विरोध

‘राष्ट्रका यस्ता नायकहरूलाई पेलेर जाने हो भने कर्मचारीले कुन मनोबलका साथ काम गर्ने ?'

चैत्र १२, २०८१

अनुप पौडेल

Kulman's removal protested in parliament wearing black glasses

कास्की — नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएकामा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले संसद्‌मै कालो चस्मा लगाएर विरोध जनाएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा गण्डकी प्रदेशमा विद्युत् विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै माओवादी सांसद भण्डारीले कालो चस्मा लगाएर विरोध जनाएका हुन् ।

सभामुख कृष्णप्रसाद धितालले बोल्ने समय दिँदा उनले चस्मा लगाएका थिएनन् । रोस्ट्रममा बोल्न सुरु गर्दा गोजीमा रहेको चस्मा लगाए । उनले लोडसेडिङमुक्त नेपालका नायकलाई कारबाही गरेको भन्दै सरकारको आलोचना पनि गरेका थिए ।

प्रधानमन्त्रीलाई आफन्तलाई बाहिर राखेर कुलमानलाई प्राधिकरणको कुर्सीमा बसेको मन नपरेको उनले बताए । उनी बोलिरहँदा सभामुख धितालले विषयमाथि बोल्न सचेत गराए । त्यसपछि सांसद भण्डारी विधेयकउपर छलफलमा अघि बढे ।

सांसद भण्डारीले गण्डकी प्रदेशसभा नियमावली, २०८० को नियम २० र २२ विपरीत गरेको भन्दै एमालेले नियम २५ अनुसार नियमापत्ति जनाएको छ । एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सांसद भण्डारीले नियम २० (घ) र नियम २२ को सम्बद्धताको व्यवस्था उल्लंघन गरेको भन्दै संसद्‍को रेकर्डबाट उनको सम्बोधन हटाउन माग गरे । नियम २० (घ) मा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द बोल्न नहुने र नियम २२ (१) मा प्रदेशसभामा बोलिरहेको कुरा विचाराधीन विषयसँग सम्बन्धित हुनुपर्ने उल्लेख छ ।

'प्रधानमन्त्रीको सालो' भन्ने शब्द घोर आपत्तिजनक भएको प्रमुख सचेतक नेपालीले जिकिर गरे । ‘प्रधानमन्त्रीको सालो भन्ने शब्द घोर आपत्तिजनक शब्द हो । म चुनौती दिन चाहन्छु, निर्वाचनमा प्रचण्ड कमरेडको नजिकै कुलमान घिसिङको फोटो टाँस्दै हिँड्नुभयो,’ उनले भने, ‘दलगत रूपमा उहाँहरूको नाता, सम्बन्ध के हो ? कुलमान घिसिङ माओवादी केन्द्रको नेता हो ?’

एमालेको नियमापत्तिपछि सभामुख धितालले आफूले सचेत गराएकाले यस विषयमा पछि छलफल गर्ने र बैठक अघि बढाउने वातावरण बनाउन आग्रह गरे । त्यसपछि बैठक अघि बढ्यो ।

सम्मान गर्नुपर्ने व्यक्तिलाई अपमान गरिएपछि आफूले सांकेतिक विरोध गरेको सांसद भण्डारीको भनाइ थियो । ‘राष्ट्रका यस्ता नायकलाई पेलेर जाने हो भने कर्मचारीले कुन मनोबलका साथ काम गर्ने ? जुनसुकै पार्टीमा आस्था राख्ने हुन्, यस्ता मान्छेलाई सम्मान गर्नुपर्नेमा अपमान गरिएको छ । त्यही भएर मैले सांकेतिक विरोध गरेको हुँ,’ उनले कान्तिपुरसँग भने ।

अनुप पौडेल

Link copied successfully