स्ववियु निर्वाचन : पृथ्वीनारायण क्याम्पसको मतगणना सुरू

चैत्र ११, २०८१

अनुप पौडेल

Swaviyu Election: Prithvi Narayan Campus Vote Counting Begins

कास्की — त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै ठूलो आंगिक क्याम्पस पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतगणना सुरू भएको छ । सोमबार बिहान साढे ९ बजेदेखि मतगणना सुरू भएको निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिए ।

आइतबार भएको मतदानमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९६ जना (३१.२४ प्रतिशत), समानुपातिकतर्फ २ हजार ८ सय ९२ जना (३१.१९ प्रतिशत) सहभागी थिए । यस क्याम्पसमा ९ हजार २ सय ७० मतदाता थिए । सबै संघ/संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारसँगको संयुक्त बैठकमा सोमबार बिहान ८ बजेदेखि मतगणना सुरू गर्ने सहमति भएको थियो ।  

पृथ्वीनारायण क्याम्पसमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ/संगठन/प्यानल निर्वाचनमा सहभागी छन् । अखिल (क्रान्तिकारी)बाट नविन अधिकारी, अनेरास्ववियु (छैठौं)बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरूङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल स्ववियु अध्यक्षका उम्मेदवार हुन् । कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवार छन् ।

समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, अखिल (छैटौं), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेदवारी दिएका थिए । 

०६५ पछि यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । यस वर्ष मतपत्रमा भएको त्रुटि र तालाबन्दीका कारण चैत ५ र ६ मा दुईपटक मतदान स्थगित भएको थियो ।  

पृथ्वीनारायण क्याम्पसको स्ववियु नेतृत्व गरेकाहरू राष्ट्रिय राजनीतिमा स्थापित भएको विगत रहेकाले यहाँको स्ववियु अध्यक्षको निकै महत्त्व रहने गरेको छ । पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, पूर्वगृहमन्त्री खगराज अधिकारी, पूर्वस्वास्थ्यमन्त्री पदम गिरी, पूर्वमन्त्री स्व. रवीन्द्र अधिकारी, राष्ट्रिय युवा संघका पूर्वाध्यक्ष राजीव पहारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य यही क्याम्पसका स्ववियु सभापति हुन् । पूर्वसभामुख कृष्णबहादुर महरा ०४०/४१ सालका स्ववियु कोषाध्यक्ष हुन् । 

अनुप पौडेल

Link copied successfully