लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, च्याम्चेको अक्टोपस झरना नजिकै बक्स कटिङ आडमा सुक्खा पहिरो जाँदा बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
स्थानीय र प्रहरीका अनुसार सोमबार मध्याह्न १२ बजेतिर माथिबाट सडक नै बगाउने गरी बक्स कटिङबाट उत्तरतर्फको भागमा पहिरो खसेको छ । च्याम्चेका बाबुराम तामाङले खसेसँगै सवारीसाधन र मानिसको समेत आवागमन हुन नसकेको बताए ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहराले पहिरो खसेको जानकारी आएसँगै प्रहरी खटाइसकिएको बताए । उनका अनुसार ब्रेकरलगायत मेसिनको प्रयोग गरी सडक खुलाउने काम थालिएको छ ।
सुक्खा पहिरो खसेपछि मनाङबाट लमजुङतर्फ आउँदै गरेका सवारीसाधन र बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेका सवारीसाधन पहिरोको दायाँबायाँ रोकिएका छन् ।
पहिरो गएको स्थल लमजुङ सदरमुकाम बेँसीसहरबाट मनाङतर्फ करिब ३२ किलोमिटर दूरीमा पर्छ ।
